images
images

प्रदेशको पक्षमा, प्रदेश सभाको विपक्षमा रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश सभा विनाको प्रदेश हुनुपर्ने बताएको छ।

रास्वपाका प्रवक्तासमेत रहेका सांसद मनिष झाले शनिबार काठमाडौँ भएको एक कार्यक्रममा बोल्दै आफ्नो पार्टी प्रदेशको पक्षमा रहेको तर प्रदेश सभाको विपक्षमा रहेको बताएका हुन्।

उनले प्रदेश सभा खारेज हुनुपर्ने पार्टीको नीति रहेको बताए। ‘हामी प्रदेश राख्न चाहन्छौँ तर प्रदेश सभा खारेज गर्न चाहन्छौँ’, उनले भने। झाले स्थानीय तहका प्रतिनिधिहरूले प्रदेशको सभा गर्ने गरी अगाडि बढ्नुपर्ने बताए।

‘हामी २१ वटा मन्त्रालयबाट १५ मा झार्न चाहन्छौँ। प्रदेश सभा खारेज गर्न चाहन्छौँ। प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह।पालिकाहरुको प्रतिनिधि पुगेर सभा गर्दछ। त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेशन झनै प्रभावकारी हुन्छ’, उनले भने।

सांसद झाले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको आफ्नो योजना, सिद्धान्त, रणनीति केही नरहेको र रास्वपाका नेताहरुको जवाफ दिएर बस्ने काम गरिरहेको बताए।