रूपन्देही – निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
आयोगका अनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा मनोनयन दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ। उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कायम गरिएको छ।
उजुरीको जाँचबुझ तथा मनोनयन पत्रको निर्णय असोज २२ गते ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म गरिनेछ। त्यसपछि उम्मेदवारहरूको नामावली पुन: बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशित गरिनेछ।
उम्मेदवारले नाम फिर्ता लिन असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ। त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ भने बेलुका ३ बजेदेखि ६ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिनेछ। मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ।
आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको ब्यहोरा जानकारी गराएको छ ।










