काठमाडौं – व्यावसायिक घराना गोल्यान ग्रुपद्वारा सञ्चालित पाँचतारे सिटी होटेल लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले सिटीलाई कायम रहेको चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो ।
होटेलको चुक्ता पुँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । सिटीले एक अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको एक करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्कासनपछि होटेलको चुक्ता पुँजी तीन अर्ब एक करोड ३२ लाख रुपैयाँ पुग्नेछ ।
०८१ पुस २६ गते आयोजित होटेलको साधारणसभाबाट ८० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरिएको थियो । हकप्रद सेयरबाट संकलित रकम ऋण तिर्न खर्च गर्ने होटेलले जनाएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिटी होटेल घाटामा छ । होटेलको घाटा चुलिएर १७ करोड ३८ लाख रुपैयाँ पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।
गत वर्ष होटेल १५ करोड ३७ लाख रुपैयाँ नोक्सानमा थियो । होटेल सञ्चालनदेखि हालसम्म लगातार नोक्सानमा चल्दै आएको छ ।
नौ महिनाको अवधिमा होटेलको आम्दानी ३७ करोड रुपैयाँ छ । सिटीको दीर्घकालीन ऋण तीन अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको होटेलले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यस्तै, सञ्चालकलाई पेस्कीबापत तिर्नुपर्ने रकम ५३ करोड ३५ लाख रुपैयाँ छ ।
नोक्सानमा चलेपछि होटेलको प्रतिसेयर आम्दानी १०.३८ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ७९.९३ रुपैयाँ रहेको होटेलले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
पाँचतारे होटेल हायात ‘प्लेस’बाट अपग्रेड भएको छ । होटेल हायात प्लेस ब्रान्डअन्तर्गत सञ्चालन हुँदै आएको थियो । हाल हायात सेन्ट्रिक ब्रान्डअन्तर्गत सञ्चालनमा छ । यो नेपालको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटेल भएको छ । सेन्ट्रिक अमेरिकी होटेल चेन हायातको लक्जरी ब्रान्ड हो ।
साढे १० रोपनी क्षेत्रफलमा डेढ वर्षअघि सञ्चालित होटेल साढे चार अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको थियो । १४ तलाको होटेलमा १५३ कोठा छन् ।
सिटी होटेलको स्थापना २००७ मा भएको हो । सिटी होटेल ०७८ कात्तिक २७ देखि होटेल हायात प्लेस ब्रान्डमा सञ्चालन भएको थियो ।










