images
images
images

सामाजिक सुरक्षा कोषले २३ लाखभन्दा बढी योगदानकर्ताको खातामा पठायो २.८४ अर्ब ब्याज

काठमाडौं । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको रकमको ब्याज वितरण गरेको छ।

कोषका सूचना अधिकारी डा रोशन कोजुका अनुसार, २३ लाख ७९ हजार ५८५ जना योगदानकर्ताको खातामा कुल दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार रुपैयाँभन्दा बढी ब्याज जम्मा गरिएको छ।

गत आर्थिक वर्षमा जम्मा भएको रकममा चैत ४ गतेसम्म ५.५ प्रतिशत र त्यसपछिको अवधिका लागि ५ प्रतिशत ब्याजदर कायम गरिएको थियो।

हालसम्म कोषमा छ लाख ३ हजार ४२६ जना औपचारिक क्षेत्र, १७ लाख ८५ हजार ५७३ जना वैदेशिक रोजगारी, ७२० जना अनौपचारिक, र ४२२ जना स्वरोजगार गरी कुल २३ लाख ९० हजार १४१ जना योगदानकर्ता सूचीकृत छन्।

कोषले हालसम्म ८६ अर्ब ८६ करोड रुपैयाँ योगदान सङ्कलन गरेको छ भने विभिन्न सुविधा योजनामार्फत १५ अर्ब ७७ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ।

कोषले हाल औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा लगायतका योजना सञ्चालन गरिरहेको छ।