images
images

पाण्डेले पार्टी सञ्चालनलाई स्टालिनसँग तुलना गरेपछि ओलीको प्रतिक्रिया के भयो?

नेकपा (एमाले) केन्द्रीय कमिटीको समापन बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच भनाभन भएको छ।

संविधानको धारा ६१, २६७ का विभिन्न उपधारा र पार्टी विधानको धारा ८ (३) देखाउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक्ने निर्णय गरेपछि उपाध्यक्ष पाण्डेले ओलीलाई ‘ब्लन्डर गर्दै हुनुहुन्छ’ भन्दै प्रतिवाद गरेका थिए। र, उनले यसो नगर्न आग्रह गरेका थिए।

अध्यक्ष ओलीले ‘आजको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई पार्टीमा नफर्कन र आफ्नो गरिमा अनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय भयो,’ भन्ने व्यहोराको निर्णय सुनाएका थिए।

लगत्तै उपाध्यक्ष पाण्डेले उठेर प्रतिवाद गरे।

‘तपाईंले ब्लन्डर गर्दै हुनुहुन्छ कमरेड! यसो नगर्नुस्। यो निर्णयले पार्टीमा ठूलो क्षति हुनेवाला छ। अकल्पनीय क्षति पुर्‍याउनेवाला छ। पार्टीलाई गम्भीर र दीर्घकालीन असर पुर्‍याउनेवाला छ,’ पाण्डेले बैठकमा भनेका थिए।

पाण्डेले केपी ओलीलाई २०५४ सालको छैठौं महाधिवेशनमा कारबाहीको घटनासमेत स्मरण गराएका थिए।

नेपालगञ्जको उक्त महाधिवेशनमा बन्द सत्रको हलले योगेश भट्टराई र रूपनारायण श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। तर बन्दसत्रको हलको ठूलो दबाबपछि भोलिपल्टै उनीहरूको कारबाही फिर्ता गरिएको थियो।

पाण्डेले छैठौं महाधिवेशनको यो सन्दर्भ सुनाइरहँदा ‘के भएर कारबाही गरिएको थियो रे!’ भन्दै ओली आक्रोशित हुन सुरू गरेका थिए। त्यसपछि ओली पक्ष केन्द्रीय सदस्यहरूले तलबाट होहल्ला सुरू गरेका थिए।

 

होहल्लाकै बीच ओली पक्षका केही केन्द्रीय सदस्यले ‘किन इतिहासतिर फर्कने, छैठौं महाधिवेशनको सन्दर्भ अहिले किन उप्काउने?’ भन्दै होहल्ला गर्न थालेपछि समापन बैठकको माहौल अशान्त देखिएको थियो।

मंगलबार रातको ११ः५० बज्नै लाग्दा केन्द्रीय कमिटीको बैठकमा छाएको अशान्ति र होहल्लाको क्षण सम्झँदै एक केन्द्रीय सदस्यले भने, ‘अध्यक्ष ओली र उपाध्यक्ष पाण्डेबीचको चर्काचर्कीले बैठकको समापन दृश्य नरमाइलो मात्र होइन, तिक्ततापूर्ण नै बन्यो।’

ओलीको निर्णयको प्रतिवाद गर्दै पाण्डेले इतिहासमा गम्भीर त्रुटिपूर्ण निर्णय भएको र फेरि सच्याउने गरिएको बताउँदै त्यतिबेला ढिला भएर पार्टीले क्षति व्यहोरिसक्ने अवस्थासमेत देखिएको बताएका थिए।

यति मात्र होइन उपाध्यक्ष पाण्डेले ओलीलाई स्टालिनको शैलीमा पार्टी चलाएको भन्दै रोष प्रकट गरेका थिए।

‘स्टालिनको बुट बजेको सुन्नेबित्तिकै बोल्सेभिक पार्टी र तिनका सदस्यहरू काम्थे! त्यस्तै पार्टी बनाउन खोज्नु भएको हो?,’ पाण्डेले ओलीको कार्यशैलीको प्रश्न उठाउँदै केन्द्रीय कमिटीको निर्णयको प्रतिवाद गरेका थिए।

त्यसपछि ओली झन् क्रुद्ध सुनिएका थिए।

‘उहाँको भनाइप्रति म खेद व्यक्त गर्छु। म स्टालिन हो? मैले त्यस्तो पार्टी बनाएको हो? मैले यहाँ बोल्न दिएको छैन? चुप बस भनेको छु?,’ ओलीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने।

उपाध्यक्ष युवराज ज्ञवालीले पनि भण्डारीलाई राजनीतिमै आउन नदिने केन्द्रीय कमिटीको निर्णयप्रति फरक मत राखे।

उनले पनि भण्डारीलाई राजनीतिमा आउने बाटै बन्द गर्ने गरी निर्णय गरिनु दुःखद भएको बताउँदै यस किसिमको ओलीको कदमलाई ‘हृदयविदारक’ भनेका थिए।

‘पार्टीमा यस्तो निर्णय हुनु हृदयविदारक अवस्था हो। विधानको कुरा टुंग्याएर जाऊँ। ७० वर्ष उमेरहद नराख्ने, कार्यकाल पनि हटाउने, पदाधिकारी र केन्द्रीय कमिटीको आकारबारे निर्णय भइ नै सकेको छ। तर सदस्यताबारे अहिले नै किन टुंग्याउनुपर्‍यो। किन हतार गर्नुपर्‍यो?,’ ज्ञवालीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने।

ओलीले निर्णय नै सुनाइसकेकाले ज्ञवालीले नवौं केन्द्रीय कमिटीले गरेको निर्णयले पार्टीले मूल्य चुकाउनुपर्ने बताएका थिए।

‘निर्णय गरी नै सक्नुभयो, नगर्नुहोस् भन्ने हाम्रो आग्रह हो। हामीले गर्ने निर्णयका कारण पार्टीले बेलाबेला क्षति भोगेको छ। अब पनि भोगौंला। हामीले भोगौंला, पार्टीले भोग्ला! यो दुःखद कुरा हो, हृदयविदारक कुरा हो!,’ उनले भने।

उनले विद्या भण्डारीको सदस्यताको विषय नहतारिई, सुविचारित ढंगबाट सचिवालय बैठकले टुंग्याएर जानुपर्ने धारणा राखेका थिए।

निर्णय परिवर्तन नहुने बताउँदै ओलीले असहमति राख्ने भए लिखितरूपमै राख्न भनेका थिए। त्यसपछि उपाध्यक्षद्वयले केन्द्रीय कमिटी बैठकको निर्णयमा ‘नोट अफ् डिसेन्ट’ दर्ज गराएर मध्यरात च्यासलबाट बाहिरिएका थिए।