images
images
images

चितवन राइनोजको लोगो परिवर्तन, सिजन २ अझै बलियो हुने दावी

पोखरा -नेपाल प्रिमियर लिग (एनपीएल) मा प्रतिस्पर्धा गर्ने टोली चितवन राइनोजले आगामी सिजन–२ का लागि आफ्नो टिम लोगोमा सानो तर महत्वपूर्ण परिवर्तन गरेको भन्दै नयाँ लोगो सार्वजनिक गरेको छ ।

गत सिजनको लोगोमा “चितवन” भन्ने शब्दलाई अगाडि राखिएको थियो, जुन शहरको पहिचानमा केन्द्रित थियो । तर, यसपटकको लोगोमा “राइनोज” अर्थात् गैँडा लाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ—जुन टिमको मर्म र फ्यानहरूको भावना दुवैलाई जोड्ने प्रतीक बन्ने दावी विज्ञप्तीमा गरिएको छ ।

नयाँ लोगो केवल डिजाइन परिवर्तन नभई, टिमको समर्पण र गर्वको झल्को पनि हो। अबको लोगोमा देखिएको गैँडा, चितवन, नेपाली क्रिकेट, र एनपीएललाई माया गर्ने लाखौँ समर्थकहरूको प्रतिनिधि बनेर अगाडि आएको उसको भनाई छ ।

अध्यक्ष आयुष न्यौपाने भन्छन्, “भाव उही हो, तर पहिचान अझ मजबुत बनेको छ । गैँडा चितवनको मात्र होइन, पूरै देशको गर्व हो । यही प्रतीकलाई लिएर हामी सिजन २ मा अझ बलियो तरिकाले उत्रन तयार भएका छौं ।”

गत सिजन टिमको मस्कट “मिस्टर गैँडा” ले दर्शकमाझ पाएको अपार लोकप्रियताले फ्यानहरूको चाहना प्रस्ट रूपमा देखाएको जनाउँदै सोही माया र समर्थनलाई कदर गर्दै, चितवन राइनोजले नयाँ लोगोमार्फत फ्यानहरूको भावना झनै नजिक ल्याउने प्रयास गरेको जनाएको छ ।

“नयाँ लोगो फ्यानहरूको रोजाइ र राइनोजको मर्मलाई अझ स्पष्ट ढंगले देखाउने प्रयास हो । मिस्टर गैँडाको लोकप्रियता हाम्रो लागि संकेत थियो । अब फ्यानहरू र गैँडाको पहिचान सँगसँगै लोगो अगाडि रहनेछ । भावना उही हो, तर यसको प्रस्तुति अझ स्पष्ट भएको छ ।”– अध्यक्ष आयुष न्यौपानेले भनेका छन् ।

चितवन राइनोजको यो नयाँ लोगो परिवर्तनले एनपीएल सिजन २ मा टिमको आत्मविश्वास र फ्यानहरू प्रतिको सम्मान झनै मजबुत बनाएको संकेत गरेको अध्यक्ष न्यौपानेले बताएका छन् ।