images
images
images

एनआरएनए इजरायलको अध्यक्षमा मियाको उम्मेदवारी घोषणा

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, इजरायलको अध्यक्षका लागि अलि महम्मद मियाँले उम्मेद्वारी घोषणा गरेका छन् ।

 

२०२५–२०२७ कार्यकालको निर्वाचनका लागि वर्तमान महासचिव समेत रहेका मियाँले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले इजरायलमा रहेका नेपाली समुदायको हकहितमा काम गर्ने प्रतिबद्धतासहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।

 

आफ्नो उम्मेदवारी घोषणा गर्दै मियाँले आफू पदको लागि मात्र नभई इजरायलमा रहेका नेपालीहरूको सुखदुःख, पीडा र समस्याहरूको समन्वय गरी समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘संस्थाको विधान एवं लक्ष्य अनुसार, इमानदारीता, नैतिकता, एकता, पारदर्शिता, रुपान्तरण, सक्षम र सबल नेतृत्वको पहिचानमा म योग्य छु,’ उनले आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् ।

 

विगतमा संघको सचिव र महासचिवको भूमिका निर्वाह गरिसकेका मियाँले आफ्नो अनुभवलाई संस्थाको सुधारमा लगाउने वाचा गरेका छन् । उनले भने, ‘मेरो कार्य अवधि भित्र संस्थाभित्र रहेको हरेक किसिमका बिकृतिहरु, विसंगति र अनिमियताको नाङ्गो नाच नाच्नेहरु संग अबको दिनमा नेतृत्वमा आएर सुधार्ने बाचा र कसम खाएको छु ।’

 

मियाँले नेपाली दूतावास, इजरायलमा रहेका सम्पूर्ण संघसंस्था एवं नेपाली समुदायसँग सहकार्य र सम्मानपूर्ण व्यवहारलाई आफ्नो दायित्व सम्झने बताएका छन् । साथै, युरोप क्षेत्र एवं अन्तर्राष्ट्रिय समितिसँग सकारात्मक सम्बन्ध स्थापित गर्दै ‘अवलोकन भ्रमण’ तथा नेपालीको हितमा रचनात्मक अनलाइन कार्यक्रमहरू सञ्चालन गर्ने योजना अघि सारेका छन् । उनले जीटुजी, कृषि, र होम केयरगिभर लगायत सबै नेपाली कामदारहरूको पेशागत तथा कानुनी समस्या समाधानका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

यसका साथै, समय समयमा अवलोकन भ्रमण, खेलकुद, कला तथा सांस्कृतिक कार्यक्रम र चाडपर्व विशेष कार्यक्रमहरू आयोजना गर्ने उनले बताए । उनी २०१९–२०२१ र २०२१–२०२३ मा सचिव तथा २०२३–२०२५ मा महासचिवको रूपमा काम गरेका थिए ।

 

अग्रजहरूको राम्रो कामलाई सम्मान गर्दै, उनीहरुको साथ, सुझाव र विश्वास लिएर एनआरएनए–इजरायललाई अझ प्रभावकारी, उत्तरदायी र सबै नेपालीहरूको साझा संस्था बनाउने दृढ संकल्पका साथ अगाडि बढेको बताए ।