images
images

आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता लिन लोसपा अध्यक्ष ठाकुरको प्रधानमन्त्री ओलीलाई आग्रह

जनकपुर,०९ साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनका अभियन्ताहरूलाई झुटा मुद्दामा फसाइएको भन्दै ती मुद्दाहरू फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

महोत्तरीको मटिहानीमा बिग्ही पुल र प्रसूति गृह उद्घाटनपछि आयोजित कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले आन्दोलनका क्रममा पक्राउ परेका अभियन्ताहरूलाई राज्यले जन्मकैद र कैद सजायको फैसला गरेर अन्याय गरेको आरोप लगाए। उनले भने, “मधेश आन्दोलनले ल्याएको परिवर्तनलाई राज्यले सम्मान गर्नुपर्ने हो, तर आन्दोलनकारीहरूलाई झुटा मुद्दामा फसाएर दुःख दिइएको छ। यी मुद्दा तत्काल फिर्ता लिनुपर्ने माग गर्दछु।”

अध्यक्ष ठाकुरले ओली सरकारकै नेतृत्वमा ३ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना सजाय भएका केही आन्दोलनकारीको मुद्दा अघिसम्म फिर्ता भइसकेको भन्दै बाँकी मुद्दाहरू पनि फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गरे।

उनले मधेश आन्दोलनका क्रममा मुद्दामा तानिएका लोसपाका प्रदेश सांसद अभिराम शर्मा, जलेश्वरका पूर्वमेयर रामशंकर मिश्र, नेता सुरेश पाण्डे र धर्मेन्द्र राउतलाई षड्यन्त्रपूर्वक झुटा मुद्दामा फसाइएको दाबी गरे। ठाकुरले भीडले गरेका घटनामा समेत राज्यले आन्दोलनकारीहरूलाई खोजीखोजी फसाएको आरोप लगाए।

“मधेश आन्दोलनले ल्याएको राजनीतिक उपलब्धिहरूको रक्षा गर्न र न्यायको प्रत्याभूति गर्न आन्दोलनकारीमाथि लगाइएका सबै मुद्दा फिर्ता लिनुपर्ने आवश्यकता छ,” ठाकुरले जोड दिए।