काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेको वैचारिक राजनीति ठूलो संकटमा रहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका ठूला राजनीतिक दलहरुमा आइडोलोजिकल एण्ड पोल्टिकल क्राइसिस रहेको जिकिर गरे।
कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जस्ता नेताहरुले खेलेको भूमिका र गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको बताए।
एमालेमा पनि वैचारिक, राजनीतिक संकट र नेतृत्वको संकट अहिले देखापरेको जिकिर गरे। उनले एमाले मदन भण्डारी र जबजको आधारमा टिकेको तर पछिल्लो समय जबजको प्रस्तावक र प्रवर्द्धक को हो भन्नेमै विवाद सुरु भएको टिप्पणी गरे।
पूर्वराष्ट्रपति विद्या भण्डारीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारीका रुपमा आफूलाई प्रस्तुत गरेको उनको भनाइ थियो।
उनले भने, ‘अहिले देशमा र राजीनीतिक ठूला भन्ने दलहरुमा निकै ठूलो आइडोलोजिकल एण्ड पोल्टिकल क्राइसिस देखिएको छ। वैचारिक राजनीति निकै ठूलो संकटमा कांग्रेस पनि छ र एमाले पनि छ। कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र पछिल्लो पटक गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरुले खेलेको भूमिका र गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको देखिन्छ। त्यही कुरा तपाईं हामीले हेर्यो भने एमालेभित्र झन् ठूलो संकट छ।’
अध्यक्ष दाहालले अहिले वैचारिक राजनीतिक संकट नभएको पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गरे।









