काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य रहेको बताएका छन्।
आज नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुनः सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको बताए।
एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध सम्बन्धमा विधिवत र घनीभूत छलफलपछि निर्णय गरेको उनले स्पष्ट पारे।
केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोप निराधार रहेको बताउँदै उनले बैठक सर्वसहमतिमा सम्पन्न भएको बताए।









