images
images
images

बीवाईडीले ल्यायाे नयाँ मोडल सिलायन सेभेन

काठमाडौँ — नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्क प्रालिले नेपाली बजारमा अर्ली बर्ड अफरसहित सिलायन ७ (सेभेन) ल्याएको छ । सिलायन सेभेन देशको प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा एक नयाँ साहसी प्रतिस्पर्धीक रूपमा आएको कम्पनीको दाबी छ ।

कम्पनीले बिहीबार कार्यक्रममार्फत सिलाएन सेभेन सार्वजनिक गर्‍यो । नेपालमा अन्य सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण तीव्र बनाउन आफ्नो अभियानलाई निरन्तरता दिइरहेको कम्पनीले बताएको छ । नेपाली बजारमा साइमेक्सले छैटौं बीवाईडी मोडलका रूपमा सिलायन ७ ल्याएको बताइएको छ । यसमा अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट र उत्कृष्ट डिजाइन रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङको विशेष उपस्थिति थियो । दिगो विकासको क्षेत्रमा चीन र नेपालको बढ्दो सहकार्यलाई उल्लेख गर्दै उनले बीवाईडी सिलायन सेभेन जस्ता प्रविधिसम्पन्न विद्युतीय सवारीसाधनको प्रवेशले नेपालको विद्युतीय रूपान्तरणलाई अझ गति दिने विश्वास व्यक्त गरे ।

बीवाईडी सिलायन सेभेन अब नेपालमा १०० किलोवाटको रियर ह्विल ड्राइभ कन्फिगरेसनमा उपलब्ध भएको छ, जुन उच्च प्रदर्शन, आकर्षक डिजाइन र लामो दूरी क्षमताका लागि इन्जिनियरिङ गरिएको छ । यो मोडेल बीवाईडीको ओसियन सिरिजको हिस्सा रहेको कम्पनीको दाबी छ । यसको खुद्रा मूल्य ७४ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ । प्रारम्भिक अर्ली बर्ड मूल्य ७२ लाख ९९ हजार रहेको र त्यो सीमित अवधिसम्म मात्र रहने कम्पनीको दाबी छ ।