काठमाडौँ – राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक स्थगित भएको विषयमा आरोप प्रत्यारोप भएको छ।

आइतबार समितिले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई बोलाएर संघीय संसद भवन निर्माणमा भएको ढिलाइ र म्याद थपको विषयमा छलफल गर्ने भनिए पनि उनी उपस्थित नभएपछि विषयमा प्रवेश नै नगरी सभापति ठाकुर गैरले बैठक स्थगित गरे।
मन्त्रालयका सचिव गोपाल सिग्देल, सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक मचाकाजी महर्जनसहितका अधिकारी पुगे पनि सभापति गैरेले मन्त्री जिम्मेवार नभएको भन्दै बैठक रोकेका थिए।
बैठक स्थगित गर्नुअघि सभापति गैरेले संसद भवन निर्माण प्रगति र तीन महिना म्याद थपबारे तीन दिन भित्र लिखित जवाफ पठाउन समितिले निर्देशन दिएपनि मन्त्रालयले अटेर गरेको बताए। समितिले दिएका निर्देशनमा मन्त्रालय जवाफदेही नबनेको दाबी गरे।
उनले भने, ‘संसद भवन निर्माण प्रगति र तीन महिना म्याद थपबारे तीन दिन भित्र लिखित जवाफ पठाउनुस् भनेर निर्देशन दिएका थियौँ । त्यो पत्र प्राप्त गर्न धेरै ठूलो समय लाग्यो । सभामुखज्युको कार्यकक्षमा नोकझोक टाइपको छलफलपछि बल्ल पत्र प्राप्त भयो । समितिप्रति र समितिले पठाएको पत्रको जवाफ पठाउने कुरामा पनि यस्तो भइरहेको छ । समितिले गरेको निर्देशनमा मन्त्रालय जवाफदेही बनोस्।’
समितिमा सांसदहरु बुद्धिमान तामाङले किन म्याद थपियो भन्नेबारेमा मन्त्रालयले स्पष्ट जवाफ दिनुपर्ने बताए। उनले मिनि संसदले सरकारलाई असहज पार्ने नभइ बल पुगोस् भन्ने ध्येय रहेको बताए।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदीय बैठकहरु सरकारको प्रतिनिधि नभइ चल्न नसक्ने धारणा राखे। उनले मन्त्रीहरुलाई जे गरे पनि सरक्क छोडिदिने परिपाटी राम्रो नहुने बताए। पाण्डेले भने, ‘हाम्रो समग्र संसदीय विषयवस्तुहरु पनि सरकारको प्रतिनिधि नभइकन संसदका बैठकहरु चल्दैन । हामी मन्त्रीहरुलाई खुरुखुरु छोडिदिने, त्यो बन्छ कसरी । बलियालाई छोड्दै छोड्दै जाने, उनले उजुरी दिएभने बोलाउँला । नत्र त सरकारलाई दिएको हो जिम्मेवारी । सहजीकरण गर्ने हो भने गर्नुपर्छ । किन म्याद थप भयो ? भन्ने हो । मन्त्रीज्यु आउनुहुन्न भने स्थगति गरौँ।’
उपप्रधानमन्त्री नभएको भन्दै समितिमा आलोचना भएपछि उनको सचिवालयले त्यसको खण्डन गरेको छ। समितिमा सिंह उपस्थिन हुन नसक्नेबारे पहिल्यै जानकारी गराइए पनि समितिबाट कुप्रचार गरिएको सचिवालयले जनाएको छ।
सिंह प्रेस संयोजक जगन्नाथ दुलालले भने, ‘आजको बैठकमा सहभागि हुनका लागि समय नमिल्नेबारे समितिलाई पूर्वजानकारी गराइसकिएको हो । आज समितिको बैठक बस्ने भएपछि मन्त्रालयकातर्फबाट सचिव र सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकसहित पुग्नुभएको थियो । समय मिल्दैन भनेर पूर्व जानकारी गराइएको विषयलाई मन्त्री नआएकाले बैठक स्थगित भन्दै गरिएको कुप्रचारमा कुनै सत्यता नरहेको अवगत गराउँदछौं ।’









