images
images
images

सरकारले स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने योजना अलपत्र पर्‍योः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ – स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारले स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने योजना अलपत्र परेको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले आफू मन्त्री भएपछि तीनपटक जनशक्ति थप्ने प्रस्ताव अगाडि बढाए पनि मन्त्रिपरिषद्‌बाट स्वीकृत नभएको गुनासो गरे।

उनले देशभरका संघीय अस्पतालको जनशक्ति जम्मा २६ सय जना मात्रै रहेको भन्दै उपत्यका बाहिरका अस्पतालमा एक तिहाइ जनशक्ति पनि नरहेको बताए।

२०४८ सालदेखि स्वास्थ्य मन्त्रालयमा दरबन्दीको ओएनएम (अर्गनाइजेसन एन्ड म्यानेजमेण्ट) नै नभएको उनको भनाइ छ।

गत वर्ष स्वास्थ्य मन्त्रालयले देशभरिका स्वास्थ्य संस्थामा आवश्यक दरबन्दीको (ओएनएम) सर्वेक्षण गर्दा ९० हजार जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको थियो। मन्त्रालयका अनुसार ओएनएम सर्वेक्षणअनुसार ६० हजार जनशक्ति स्थानीय तहका अस्पतालका लागि, १५ हजार संघीय र १५ हजार प्रदेश अस्पतालको लागि प्रक्षेपण गरेको थियो।

चालु आर्थिक वर्षमा ३० हजार जनशक्ति पूरा गर्ने उद्देश्यले मन्त्रालयले ओएनएम प्रस्ताव गरेको थियो। तर, मन्त्रिपरिषद्‍बाट ओएनएम नै स्वीकृति नभएको मन्त्री पौडेलको गुनासो छ।

यस्तै, उनले चिकित्सकहरू सरुवा गरेको ठाउँमा जान नमान्ने र उनीहरूलाई कारबाहीसमेत गर्न सक्ने अवस्था नरहेको बताए।