images
images
images

‘देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छ’

काठमाडौँ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले देशमा थप विमानस्थल आवश्यक हो वा होइन भन्नेबारे स्पष्ट हुन जरुरी रहेको बताएका छन्।

मंगलबार (हिजो) सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले देशमा थप विमानस्थल आवश्यक हो कि होइन भन्नेबारे स्पष्ट हुनुपर्ने बताएका हुन्।

समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको थियो।

समितिको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक सञ्जाल धेरै ठाउँमा पुगिसकेको र विमानस्थलहरुको सञ्चालन हुन नसकिरहेको बताएको उल्लेख गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने कञ्चनपुरमा विमानस्थल बनाउने योजनाअनुसार अघि बढ्नुले संशय पैदा भएको बताए। अब सरकारले पर्यटनसँग सम्बन्धित पूर्वाधार बनाउनुपर्ने उनले बताए।

सांसद बजगाईंले निर्वाचनलक्षित गरेर गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा विमानस्थल माग गरिरहेको भन्दै यसबारे स्पष्ट पार्न आग्रह गरे।