images
images

कांग्रेसद्वारा पृथ्वीमान गुरुङलाई उच्च सम्मान

चितवन, १४ साउन – विद्यार्र्थीकालदेखि राजनीतिमा सक्रिय रहनुभएका पृथ्वीमान गुरुङले जब विद्यार्थी कोइरालालाई भेट्नु भयो, त्यसपछि उहाँको राजनीति नेपाली कांग्रेसमा सक्रिय रुपमा अघि बढ्यो ।  विसं २०३१ मा विद्यार्थी कोइराला पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा रहँदा भेट्नुभएका गुरुङले कोइरालाकै परामर्शमा चितवन झरेर सक्रिय राजनीतिमा लाग्नुभएको जनाइएको छ ।
विसं २००६ मा कास्कीमा जन्मिनुभएका गुरुङले एमएसीसम्मको अध्ययन गर्नुभएको थियो । प्राध्यापन समेत गर्नुभएका बौद्धिक व्यक्तित्व गुरुङले प्राध्यापन छोडेर चितवनको राजनीतिमा सक्रिय रुपमा लाग्नुभयो ।
केही समय अघिसम्म गण्डकी प्रदेशको प्रमुखको रुपमा रहनुभएका गुरुङको यही साउन १० गते चितवनस्थित निवासमा निधन भएको छ । राजनीतिक र सामाजिक जीवनमा ठूलो योगदान पुर्याउनुभएका गुरुङको निधनसँगै प्रदेश सरकार र उहाँको पार्टी कांग्रेसले उच्च सम्मान व्यक्त गरेको छ ।
तीन दिनसम्म जिल्लास्थित पार्टीका कार्यालय बन्द गरेको कांग्रेस चितवनले आज जिल्लाका सबै तहहरुमा शोक पुस्तिका राखेर सम्मान व्यक्त गरेको छ । जिल्ला सभापति राजेश्वर खनालका अनुसार गुरुङ विद्यार्थीको परामर्शमा चितवन आएर प्राध्यापक छोडेर यहाँको सामाजिक परिवर्तन र राजनीतिक काममा सक्रिय हुनुभएको हो ।
नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको धेरै पटक सदस्य, आठौँ महाधिवेशनदेखि नै महासमिति सदस्य रहनुभएका गुरुङ विसं २०६१ देखि ०६३ सम्म जिल्ला सभापति हुनुभयो । विसं २०४६ मा तत्कालीन जिल्ला सभापति कृष्णलाल सापकोटाको संयोजकत्वमा केन्द्रले गठन गरेको पाँच सदस्यीय जनआन्दोलन समितिमा उहाँ सदस्य हुनुहुन्थ्यो ।
विसं २०४८ मा चितवन क्षेत्र नं ३ बाट पार्टीको तर्फबाट उम्मेदवार भएर गुरुङ झिनो मतले पराजित हुनुभयो । पराजित भए पनि उहाँ जनताको काममा निरन्तर लाग्नुभयो । विद्यार्थी क्यान्सर मेमोरियल अस्पताल, माडीलाई भरतपुरसँग जोड्ने राप्तीमा पुल निर्माण, निकुञ्जभित्रको बस्ती पदमपुर स्थानान्तरण, पूर्वी चितवनको राप्ती तटबन्धनजस्ता जिल्लाका ठूला विकास आयोजनामा उहाँको महत्वपूर्ण भूमिका रहेको खनाल बताउनुहुन्छ ।
विसं २०४८ पछि गिरिजाप्रसाद कोइराला पटकपटक प्रधानमन्त्री हुँदा यी विकासका आयोजना सम्पन्न भएका हुन् । त्यसो त सो समयमा पश्चिम चितवनको विकासमा गुरुङको योगदान महत्वपूर्ण छ । पश्चिम चितवन मात्रै होइन भरतपुर क्षेत्रमा सञ्चालनमा आएका ठूला दुई मेडिकल कलेज स्थापना गर्न गुरुङले भूमिका निर्वाह गरेको खनालले बताउनुभयो ।
पार्टीमा रहेर जनताको हितमा काम गरेका कारण पूर्व सभापति गुरुङलाई जिल्ला समितिले उच्च सम्मान दिएर १३ दिनसम्म नै शोकका कार्यक्रम मात्रै गरिरहेको खनाल बताउनुहुन्छ । रासस