images
images

सरकार पुनःगठनबारे कांग्रेस एमाले नेताका फरक फरक दाबी

काठमाडौँ – सरकार पुनःगठनबारे कांग्रेस एमालेबीच मत बाझिएको छ।

कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार एक वर्ष पुगेसँगै मन्त्रीहरु हेरफेर गर्ने चर्चा सुरु भएको छ।

त्यहीँ विषयमा समेत छलफल गर्न बिहीबार कांग्रेस एमालेका शीर्ष नेताहरुसहित बालुवाटारमा बसेको बैठकमा भने त्यो विषयले प्रवेश नै नपाएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए। उनले देश सञ्चारसँग भने, ‘संघीय सरकार सरकारका मन्त्री हेरफेर गर्ने विषयमा कुनै छलफल नै भएन। त्यो प्रसंग नै उठेन।’

बरु सरकारको काम कारबाहीलाई अझ प्रभावकारी बनाउने विषयमा शीर्ष तहमा कुराकानी भएको खड्काले जानकारी दिए। ‘सरकारको काम कारबाहीलाई अझ प्रभावकारी बनाउने विषयमा कुराकानी भयो। सेवाग्राहीले भोग्नु परेका समस्या समाधान गर्नुपर्छ भन्ने कुरा उठेको छ, खड्काले भने।

शीर्ष तहको बैठकमा मन्त्री हेरफेरबारे कुराकानी नभएको दाबी कांग्रेस उपसभापति खड्काले गरे पनि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ भने मन्त्री फेरिने विषयले औपचारिकता पाइसकेको दाबी गर्छन्।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले भने, ‘सामान्यतया २÷३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा हाम्रोमा १३ महिनादेखि भएको छैन। अब होला भनेर सर्वत्र चासो राखिएको छ, यो अस्वाभाविक पनि होइन।’

गुरुङले अगाडि भने, ‘सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न उठेको खण्डमा पार्टीभित्र छलफल गरेर हेरफेर गरिनेछ।’ खड्काले जस्तै गुरुङले पनि सरकार सञ्चालनको विषयमा अहिले दुई दलबीच अविश्वास नभएको जिकिर गरे।