images
images

पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए

काठमाडौं– पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएकामध्ये मृत्युवरण भएका एक हजार १८० जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । अझै ७० शव विदेशमै अलपत्र अवस्थामा रहेको वैदेशिक रोजगार विभाग बोर्डले जनाएको छ ।

बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको तुलनामा शव ल्याउने सिलसिला बढेको जानकारी दिए ।

यस्तै शवलाई परिवारको घरसम्म एम्बुलेन्सको आवश्यकता रहेकाले त्यसका लागि पनि बजेट विनियोजन गरिएको बताएका छन् । उनले पुनारा शव बाहनको सट्टामा नयाँ दुईवटा विद्युतीय शववाहन किन्ने योजना रहेको बताएका छन् ।

विदेशमा जेल परेका अधिकांश व्यक्तिमा लागुऔषध एवं मदिराको कुलत देखिएको उनको भनाइ छ । उनका अनुसार गन्तव्य देशमध्ये साउदी अरबको कानुनी प्रक्रिया जटिल भएकाले शव ल्याउन ढिलाइ हुने गरेको छ ।

बोर्डले १२ सय ५० मृतकका परिवारलाई गत आर्थिक वर्षमा सहयोग रकम हस्तान्तरण गरेको थियो । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा अंगभंग तथा अस्वस्थ भएका ६९८ कामदारलाई आर्थिक सहयोग गरिएको उनले बताए ।

त्यस्तै, कामदारका २७५ परिवारलाई स्वास्थ्य उपचार सहयोग गरिएको उनले उल्लेख गरे । वोर्डले वैदेशिक रोजगारीमा रहेका नागरिकका ९९० जना सन्ततिलाई छात्रवृत्ति दिएको छ ।

वोर्डले संघीय र प्रदेश सांसदका लागि वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यससँगै वैदेशिक रोजगारीबाट फर्केर उद्यममा संलग्न भई सफलता हासिल गरेका नागरिकलाई लक्षित गर्दै ‘रिटर्नी उद्यमी आइडल’ कार्यक्रम आयोजना गरिने डा. उप्रेतीले बताए ।