काठमाडौँ — काठमाडौं नेसनल मेडिकल शिक्षण अस्पताल पुनः सञ्चालनमा ल्याइएको छ । अस्पताल पुनः सञ्चालनमा ल्याइएको अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै अर्को सूचना नआएसम्मलाई निःशुल्क ओपिडी सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।
अस्पतालको उद्घाटन बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले गरेका थिए । अस्पतालको पुनः सञ्चालनले स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा सकारात्मकताका लागि स्वागतयोग्य कदम रहेको बताएका छन् । मगरले अस्पतालमा संलग्न सम्पूर्ण टिमलाई शुभकामना दिँदै गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रवर्द्धनमा बागमती स्वास्थ्य मन्त्रालयको सधैँ सहयोग रहने बता ।
अस्पतालले अन्य अतिरिक्त सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरेको छ । विशेषज्ञ सेवा अन्तर्गत जनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाड जोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक/कान/घाँटी, आँखा, नसा, मुटु, मिर्गौला, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध हुने अस्पतालले जनाएको छ ।
आपत्कालीन सेवा २४ सै घण्टा सञ्चालनमा रहने र एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्स–रे साथै फिजियोथेरापी सेवामा पनि छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।
कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले उद्घाटनको क्रममा यसअघि नेपाल मेडिकल कलेज र नेसनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले नै काठमाडौं नेसनल मेडिकल कलेजको सञ्चालन गरेको बताएका थिए ।










