images
images
images

लोकतान्त्रिक मोर्चाको काठमाडौंबाट एक महिने जागरण अभियान सुरु

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ ।

वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रुपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरको मोर्चाले जनाएको छ । आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चा आवद्ध दलका शीर्ष नेताहरुले राज्यले मधेशी, जनजाती लगाएत अन्य पछि परेका समूदायलाई उपेक्षा गरेको जनाएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दलहरुले भनेजस्तो संविधान संशोधन गर्न सहज नहुने बताए । संविधान बनाउनेहरुबाट संविधानप्रति खतरा रहेको उनको भनाइ छ ।

ठाकुरले मधेशी समूदायहरुले बराबरको अधिकार पाउन नसकेको भन्दै सवै मिलेर राज्यलाई दवाव दिनुपर्ने धारणा राखे । त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकमाथि भएको विभेद अन्त्य नभए विद्रोह हुने बताए ।

उनले सुकुम्वासीका नाममा धेरै खेल भएको भन्दै अहिले पनि आफ्नालाई जग्गा दिनका लागि सरकारले कानून बनाउन खोजेको आरोप लगाए । यादवले सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले सरकारलाई दिएको समथर्न फिर्ता लिएको बताए।

त्यस्तै राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महत्तोले देशलाई साझा नबनाइ नेपाल बन्न नसक्ने बताए । देशका सवै ठाँउमा बस्ने सवै समूदायको साझा हुने गरि देशलाई अघि बढाउनुपर्ने उनले बताए । उनले सवैलाई स्वीकार्य हुने गरि संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे ।

संघीय लोकतान्त्रिक मोर्चाले भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुरका साथै भाद्र २२ गते वीरगञ्जमा पुगेर जनजागरण अभियान समापन हुने जनाएको छ ।