आँबुखैरेनी– गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको यात्रुबाहक बस तनहुँको आँबुखैरेनी नजिकैको ऐनापहरा क्षेत्रमा दुर्घटनामा परेको छ।
ग२ख १०७७ नम्बरको उक्त बस अपराह्न ४ बजेतिर ऐनापहरानजिकै सडकबाट झन्डै १५ मिटर तल खसेको हो।
आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयका अनुसार बस हाल भिरमा अड्किएको छ। दुर्घटनाको समयमा बसमा कति जना सवार थिए भन्ने स्पष्ट भइसकेको छैन। हालसम्म ७ जनाको उद्धार गरिएको प्रहरीले जनाएकाे छ।
‘बस रोकेर ऐना पहरा हेर्ने क्रममा चिप्लिएर दुर्घटना भएको रहेछ,’ प्रहरीले भन्यो, ‘बसभित्र थोरै यात्रु मात्र हुनुहुन्थ्यो। हालसम्म ७ जनालाई उद्दार गरिएको छ, तीमध्ये २ जनाको अवस्था गम्भीर छ।’
घाइतेमध्ये दुईजनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बसको अगाडिको भाग पानीमा डुबेकाले अझै केही यात्रु फसेको हुन सक्ने आशंका गरिएको छ।
यसअघि, २०८१ साल भदौ ७ गते पनि यही क्षेत्रको ऐनापहराबाट भारतीय तीर्थयात्री सवार बस मर्याङ्दी नदीमा खस्दा २७ जनाको ज्यान गएको थियो।










