images
images
images

गोरखामा ५५ करोड लागतमा बन्यो एनपीआई अस्पताल, १ भदौदेखि सञ्चालनमा आउने

 गोरखा, साउन २० – गोरखामा ५५ करोड लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ ।

एनपीआई गोरखा हस्पिटलले १ भदौदेखि सञ्चालनमा आउने भएको छ ।

गोरखा सदरमुकाममा निर्माण भएको सुविधा सम्पन्न एनपीआई गोरखा हस्पिटलले १ भदौदेखि आफ्नो सेवा सुरु गर्ने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै सञ्चालक समितिले यस्तो जानकारी गराएको हो ।

गण्डकी प्रदेश सरकारबाट स्वीकृति समेत प्राप्त भइसकेको सञ्चालक समिति अध्यक्ष लेखराज पन्तले बताए ।

एक सय शय्यको अस्पतालले स्त्री रोग, नशा तथा हाडजोर्नी, बाल रोग, शल्यक्रिया, रेडियोलोजिस्ट, एनेस्थेसिया, मेडिसिन (पेट, मुटु, छाती, प्रेसर, सुगर, दम र थाइरोइड) लगायत विशेषज्ञ सेवा दिने उनले जानकारी दिए ।

इन्डोस्कोपी र सिटी स्क्यान सेवा पनि अस्पतालले दिने उनको भनाइ छ ।

सेवा शुभारम्भको पहिलो दिन ओपीडी सेवा निःशुल्क रहने अस्पतालले जनाएको छ । बाँकी सेवा शुल्कमा ५० प्रतिशत छुट हुने अस्पतालका प्रबन्ध सञ्चालक पुष्पराज शर्माले बताए ।

‘दोस्रो र तेस्रो दिन ओपीडीमा ५० प्रतिशत र अरू सेवा शुल्कमा २५ प्रतिशत छुट दिन्छौ,’ उनले भने, ‘चौथो दिनबाट भने हाम्रो दररेट अनुसार शुल्क लिन्छौं ।’

सात तले उक्त भवन निर्माणको काम २०७७ सालदेखि सुरु भएको थियो । आवश्यक उपकरणसहित भवन निर्माणका लागि कुल ५४ करोड ७५ लाख खर्च भएको अस्पतालले जनाएको छ ।

गोरखासँगै तनहुँ, लमजुङ, धादिङ लगायतका स्थानीयलाई सुलभ शुल्कमा विशेषज्ञ सेवा उपलब्ध गराउने उदेश्य सहित अस्पताल सञ्चालन गर्न लागिएको शर्माको भनाइ छ ।

उनका अनुसार अस्पतालमा गोरखाका ३५ र चितवनका ५९ गरी कुल ९४ जना शेयर सदस्य छन् ।