गोरखा, साउन २० – अबदेखि रोजगारीसम्बन्धी विज्ञापन ‘श्रम संसार रोजगार पोर्टल’ तथा ‘श्रम संसार एप’ मा पनि अनिवार्य रूपमा राख्नुपर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यस्तो व्यवस्था लागू गरेको हो।
श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ मा रोजगारदाताले आवश्यक जनशक्ति आपूर्तिका लागि राष्ट्रियस्तरका दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था छ। त्यस्तो विज्ञापनमार्फत पनि नेपाली नागरिकबाट दरखास्त नपरेमा वा छनोट हुन नसकेमा त्यसको प्रमाणसहित मात्र विदेशी श्रमिकलाई रोजगारीमा लगाउन श्रम स्वीकृतिका लागि विभागमा निवेदन दिन सकिन्छ।
विभागले विदेशी श्रमिकका लागि श्रम स्वीकृति लिने रोजगारदाताहरूलाई राष्ट्रिय दैनिकमा प्रकाशित विज्ञापन ‘श्रम संसार रोजगार पोर्टल’ र ‘श्रम संसार एप’ मा पनि अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको छ।
विभागको सूचनामा भनिएको छ, “रोजगारदाताले विदेशी श्रमिकलाई काममा लगाउन श्रम स्वीकृतिका लागि विभागसमक्ष निवेदन दिनसक्ने हुँदा, श्रम नियमावली, २०७५ को नियम ७ को उपनियम (३) बमोजिम यस्ता विज्ञापन मन्त्रालयद्वारा सञ्चालित ‘श्रम संसार रोजगार पोर्टल’ तथा ‘श्रम संसार एप’ मा समेत अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था रहेकोले उक्त व्यवस्था अनुसार सूचित गरिन्छ।”










