images
images
images

सेयर ब्रोकर श्रीवास्तवलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ–सेयर कारोबारको रकम ठगेको आरोपमा बुधबार पक्राउ परेका सेयर ब्रोकर जयन्त श्रीवास्तवलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

आरोपीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो।

११ करोड ठगी गरेको उजुरी परेपछि उनी पक्राउ परेका हुन्।घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ।

प्रहरी स्रोतका अनुसार मिता मुरारका अग्रवाल र ज्योती अग्रवालले आफूहरूले पाउनुपर्ने ११ करोड नपाएको भन्दै श्रीवास्तव विरुद्ध ठगीको उजुरी गरेका हुन्।

सो विषय अर्का सेयर कारोबारी दीपेन्द्र अग्रवालसँग पनि सम्बन्धित रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्।

सेयर कारोबारी दीपेन्द्र अग्रवालले सेयर खरिद–बिक्री गर्ने विभिन्न १५ नाममध्येका २ जना आफूहरूले पाउनुपर्ने रकम फिर्ता नदिएको भन्दै उजुरी दिएको काठमाडौ प्रहरी परिसरले जनाएको छ।

दीपेन्द्र अग्रवालले मिता तथा ज्योतिसहित विभिन्न १५ व्यक्तिका नाममा सेयर कारोबार गर्दै आएका छन्। उनले ती व्यक्तिका नाममा आफैं सेयर किन्ने र आफैंले बिक्री गर्ने गर्दै आएको धितोपत्र बोर्डको अनुसन्धानमा देखिएको छ। साथै, अग्रवालले ती १५ जनाबीच सेयर खरिद–बिक्री गरेर मूल्य बढाउने र समाजिक सञ्जाल मार्फत सर्वसाधारणलाई किन्न लगाउने गर्दै आएको बोर्डको अनुसन्धानको निष्कर्ष छ।

प्रहरीका अनुसार उक्त ब्रोकर कम्पनीले उजुरीकर्ता दुईको कुल ११ करोड ५५ लाख रुपैयाँ सेयर कारोबार बापत फिर्ता नगरेको भन्दै ठगीको आरोप लगाइएको हो।