काठमाडौं – संसद्मा प्रतिनिधित्व गर्ने नेकपा एमाले र नेपाली कांग्रेस बाहेकका दलहरूले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्यांकन कार्यविधि’ संविधानविपरीत रहेको निष्कर्ष निकालेको छ ।

बुधबार सिंहदरबारमा बसेको बैठकले उक्त कार्यविधि सरकारमा रहेका दलहरू कांग्रेस र एमालेकै चाहनाअनुरूप ल्याउन लागिएको भन्दै विरोध गरेको हो । बैठकले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ को संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।
आवश्यकताअनुसार संघर्ष र प्रतिवाद गर्ने समझदारी बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुई ठूला पार्टी मात्रै रहने ल्याउन खोजिएको बताए ।
उक्त कार्यविधि सरकारमा रहेका दलहरू कांग्रेस र एमालेकै चाहनाअनुरूप ल्याउन लागिएको भन्दै आवश्यकताअनुसार संघर्ष र प्रतिवाद गर्ने कुरामा पनि दलहरूका बीचमा समझदारी बनेको बताए ।
‘निर्वाचन आयोगले संविधान विपरित काम गर्दैछ, हामी लिखित रुपमा संयुक्त रुपमा प्रतिवाद गर्छौँ। दुई ठूला दलबाहेक अरु सबै निर्वाचन आयोगका कदमका विरुद्ध एकैठाउँमा आएका हौं।’ उनले भने ।
रास्वपाका नेता गणेश पराजुलीले निर्वाचन आयोगको कदम कानून र न्यायसम्मत नभएको भन्दै विपक्षी दलहरु एकैठाउँमा आएको बताए।
निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन आह्वान गर्दै पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ का विषयमा गम्भीर आपत्ति जनाउँदै बुधबार कांग्रेस–एमाले बाहेकका दलहरूबीच छलफल भएको थियो ।
बैठकमा अध्यक्ष प्रचण्डले सो कार्यविधि हालको संविधान, ऐन तथा कानुन विपरीत रहेकाले सम्र्पूण दलहरूको साझा धारणा बनाउन बैठक आयोजना गरिएको बताए ।










