images
images
images

भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौँ – नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने भएको छ ।

महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा आज सकिँदै छ । समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जाने निर्णय गरेको उनले बताए ।

आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिए । त्यसअघि भाद्र ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको अध्यक्ष सुवेदीले बताए ।

शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफूलाई जानकारी नभएको उल्लेख गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै विधेयकले सम्बोधन गरेका विषयको आंकलन गरिने जिकिर गरे ।

बैठकमा सरकारसँग भएको सहमतिपछि अहिलेसम्मको अवस्थामा बारेमा समीक्षा गरिएको उनले बताए ।

समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुने गरी र विद्यालय शिक्षाका समस्या समाधान गर्ने गरी विधेयक आउने जस्तो नदेखिएको महासंघको बुझाइरहेको सुवेदीले बताए ।

समयभित्र ऐन जारी नभएपछि थप रणनीति बनाउन महासंघको बैठक आज बसेको थियो ।

महासंघले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरिरहेको समयमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बसिरहेको छ ।