चितवन – भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत ४३८ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । यो संख्या अहिलेसम्मकै उच्च हो । महानगरले शिक्षा ऐन र छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार अनलाइन आवेदनमार्फत पारदर्शी रूपमा विद्यार्थी छनोट गरेको हो ।
महानगर प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनअनुसार कुनै भनसुनबिना योग्यता र क्षमताका आधारमा छात्रवृत्ति वितरण गरिएको बताइन । “शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न वैज्ञानिक ढंगले छात्रवृत्ति वितरण गरिएको छ,” उनले भनिन् ।
उपप्रमुख चित्रसेन अधिकारीले विद्यार्थीलाई एसईइको नतिजा कक्षा ११ मा पनि कायम राख्न आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेन्टीअनुसार छात्रवृत्ति प्रदान गरिएको जनाए ।
शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ । जसमा विज्ञान संकायका ३३० र अन्य संकायका १०८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दार १६२, गरिब तथा विपन्न १६२, आदिवासी जनजाति ५३, दलित २६, अपाङ्गता भएका १३, र जनआन्दोलनका घाइते तथा सहिदका सन्तति १३ जना छन् ।
महानगरका अनुसार एक हजार १६१ जनाले छात्रवृत्तिका लागि आवेदन दिएका थिए, जसमा विज्ञान संकायका लागि ८७७ र अन्य संकायका लागि २८४ आवेदन परेका थिए । गत वर्ष २६६ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए ।










