images
images
images

भ्रष्टाचारको ढाल बनेको छ वर्तमान सरकार: श्रेष्ठ

कञ्चनपुर – नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई ‘भ्रष्टाचारीको ढाल’ बनेको आरोप लगाएका छन् ।

सोमबार महेन्द्रनगरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको सत्ता संयोजनलाई भ्रष्टाचार, छलकपट र यथास्थितिको पक्षपोषक रहेको दाबी गरेका छन् ।

पूर्व उपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री श्रेष्ठका अनुसार, अघिल्लो माओवादी नेतृत्वको सरकारले सुशासनका लागि गरेका पहललाई रोक्न एमाले र कांग्रेसको गठबन्धन सरकार बनेको हो । “हाम्रो अध्यक्ष प्रचण्डको नेतृत्वमा विकास र सुशासन दिन खोज्दा यो सरकार ढालियो,” उनले आरोप लगाए।

श्रेष्ठले सुशासनलाई सामाजिक–आर्थिक रूपान्तरण र संविधानको संरक्षणका लागि अपरिहार्य बताए । यसका लागि सबै वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै उनले नेकपा (विप्लव), समाजवादी, जसपासहितका दलसँग समाजवादी मोर्चा पुनर्जननबारे छलफल भइरहेको जानकारी दिए ।

मंगलबार भीमदत्त नगरमा हुने माओवादी अधिवेशन उद्घाटनका लागि कञ्चनपुर पुगेका श्रेष्ठले दोधाराचाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाहको अनुगमन गरेका छन् । पश्चिम नेपालबाट विकासको योजना अघि बढाउने परिकल्पना माओवादी सरकारले गरे पनि अहिले ती योजना ओझेलमा परेको उनको भनाइ छ । उनले दिगो विकासका लागि यस्ता पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

उनको भ्रमण कार्यक्रममा धनगढी विमानस्थल हुँदै हुलाकी राजमार्गको पुनर्वास, बेलौरी, बेलडाँडी क्षेत्र हुँदै महेन्द्रनगर आइपुग्ने र स्थानीय जनता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम पनि समावेश छ । मंगलबार उनले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यालयबाट भीमदत्त नगरको सम्मेलन उद्घाटन गर्नेछन् ।