काठमाडौं – विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सरक्षा माग गरेको छ ।
त्रिवीका एक अधिकारीका अनुसार सुरक्षाको लागि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तलाई पनि सुरक्षाको प्रबन्ध मिलाइदिन भनिएको छ ।
सोमबार अखिल क्रान्तिकारीले शुल्क घटाउनु पर्ने भन्दै रजिस्ट्रार कार्यालय र रेक्टर कार्यालय तोडफोड गरेको थियो । सो क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थीहरु घाइते भएका थिए ।
अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । गाभिएका कार्यक्रमको शुल्क घटाउनु पर्ने माग राखेर अखिल क्रान्तिकारीले २० दिनदेखि उपकुलपति अर्यालको कार्यकक्ष अगाडि ढोकामा धर्ना दिइरहेको छ ।
यहि कारण कार्यकक्षमा बसेर काम गर्न नपाएको उपकुलपति दीपक अर्यालले बताएका छन् ।










