images
images
images

कारागार प्रशासनले भन्यो: रविलाई छुट्टै शौचालय र टेलिफोन सुविधा दिइएको छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामा रहेको भैरहवास्थित रुपन्देही जिल्ला कारागार कार्यालय ब्लक नम्बर ४ को कोठाको झ्याल खुला गरिएको छ । यसअघि प्लाइउडले छोपिएकोमा अहिले खोलेर जाली राखिएको हो ।

कारागार प्रशासक सुरेश भण्डारीले बिहीबार विज्ञप्ति जारी गरी लामिछानेलाई सुविधामा कुनै विभेद नगरिएको जानकारी दिएका छन् । उनलाई शौचालयसहितको छुट्टै कोठामा राखिएको तथा टेलिफोन सुविधा दिइएको विज्ञप्तिमा उल्लेख छ ।

कारागार कार्यालयका अनुसार २५० जना कैदी, बन्दी र थुनुवा राख्ने क्षमता रहेको रुपन्देही कारागारमा हाल ६४० जना छन् । क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी रहेको अवस्थामा पनि कारागारमा उपलब्ध स्रोतसाधनको परिचालन गरी कानुनबमोजिमका सेवा–सुविधा समयमै उपलब्ध गराइरहेको दाबी कारागार कार्यालयले गरेको छ ।

 

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई थुनामा राखिएको कोठाको झ्यालमा प्लाइउड लगाएर हावा समेत छिर्न नदिई मानव अधिकार हनन भएको भन्दै आलोचना भएको थियो । यसबारे बुझ्न राष्ट्रिय मानव अधिकारको टिम भैरहवा आएर निरीक्षण समेत गरेको थियो ।

कारागार कार्यालयले जारी गरेको विज्ञप्तिमा झ्यालबाट प्लाइउड हटाई सट्टामा जाली राखिएको जानकारी दिइएको छ ।

‘यस कारागारमा विगत चार महिनादेखि सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनुवाको रूपमा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं हाल निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी निजलाई प्रारम्भदेखि नै छुट्टै बन्दीगृहको (अलग्गै एउटा कोठामा)राखिएको छ । उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था छ । उक्त कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखिसकिएको छ । निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ’, कारागार प्रशासक भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लामिछाने राखिएको कोठाका सन्दर्भमा केही दिनयता सञ्चारमाध्यममा समाचार आइरहेकाले आफ्नो ध्यानाकर्षण भएको कारागार कार्यालयले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कारागारको भौतिक संरचना र क्षमताअनुसार बन्दीहरूलाई खाने, बस्ने, हिँडडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा, पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तहरूलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रूपमा उपलब्ध गराउँदै आएको छ । कारागार ऐन, २०७९ तथा कारागार नियमावली, २०२० बमोजिम अशक्त, अपांग, ज्येष्ठ नागरिक तथा सुरक्षा जोखिम भएका व्यक्तिहरूलाई थप सुविधासमेत उपलब्ध गराउने गरिएको छ । थप सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुनबमोजिमका सकारात्मक विभेदबाहेक बन्दीहरूको बीचमा अन्य विभेद गरिएको छैन । कारागार प्रशासनको तर्फबाट समय समयमा कारागारभित्रको वस्तुस्थिति अवलोकन गर्ने बन्दीहरूका गुनासो सुन्ने र स्रोत–साधनले भ्याएसम्म त्यसको सम्बोधन गर्ने कार्य गरिँदै आएको छ ।’