images
images
images

साउदी अरबमा श्रम स्वीकृति बिना काम गर्ने नेपालीका लागि वैधानिकीकरण अभियान सुरु

काठमाडौं – साउदी अरबमा श्रम स्वीकृति (लेबर पर्मिट) नलिएर कार्यरत नेपाली श्रमिकको कानुनी वैधानिकीकरण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। श्रावण ३० गतेदेखि लागू भएको यो अभियान नेपाली दूतावास, रियादले एक विशेष समारोहमार्फत प्रारम्भ गरेको हो।

कार्यक्रममा आठ वर्षदेखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रिक प्रक्रिया पूरा गर्दै नेपाली राजदूत डा. नरेश विक्रम ढकालले वैधानिकीकरणको औपचारिक घोषणा गरे। भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम स्वीकृति बिना विदेशमा काम गर्न बाध्य नेपालीलाई वैधानिक रूपमा सुरक्षित गर्ने यो कदमलाई महत्त्वपूर्ण भने।

मन्त्री भण्डारीले श्रम स्वीकृति नभएकाले स्वदेश फर्किन पनि नसक्ने अवस्थाले श्रमिकको मानव अधिकारमा प्रश्न उठ्ने भएकाले यो अभियान अपरिहार्य भएको बताए। उनले चाँडै नै साउदी अरबसँग द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर हुने र सेवाहरू प्रविधिमैत्री बनाइने जानकारी पनि दिए।

श्रम मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले कानुनी, व्यक्तिगत वा जानकारीको अभावका कारण श्रम स्वीकृति नलिएका नेपालीहरू राज्यको सेवाबाट बञ्चित भइरहेका भन्दै दूतावासबाटै वैधानिकीकरण प्रक्रिया सञ्चालन आवश्यक रहेको स्पष्ट पारे।

राजदूत डा. ढकालले यो कार्यलाई अभियानकै रूपमा अघि बढाइने बताउँदै विभिन्न संघ–संस्थाको सहकार्यका लागि आग्रह गरे। यस कदमले हजारौँ श्रमिकलाई कानुनी सुरक्षा प्राप्त हुने अपेक्षा गरिएको छ।