images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँ : सांसद ढकाल

काठमाडौँ – नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई अपमान गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यात्रुहरू हरेकलाई ठग नै हो जस्तो गरी व्यवहार हुने गरेकोप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले यात्रुहरूमाथि दुर्व्यवहार गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । अन्तर्राष्ट्रिय विमानस्थलबाट पाउनुपर्ने सेवा यात्रुहरूले पाउन नसकेको बताए ।

विमानस्थलमा यात्रुमाथि उनीहरूको आत्मसम्मानमा ठेस पुर्याउने काम भएको बताए । विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण प्रमुखको शासन चल्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई अपमान गर्ने, यात्रुहरू हरेकलाई यो ठग नै हो जस्तो गर्ने, बेला बेलामा दुर्व्यवहार पनि गर्ने जुन काम पहिलादेखि भइरहेको थियो, त्यो काम रोकिएको छैन । अब त्यहाँ कोही पहिलो पटक उत्साहित भएर गइरहनुभएको हुन्छ, उहाँहरूलाई थाहा हुँदैन । एउटा प्यासेन्जरले अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन सेवा प्राप्त गर्नुपर्ने हो, त्यो सेवा प्राप्त गर्न सक्नुभएको छैन । उहाँहरूको आत्मसम्मानमा ठेस आउने किसिमले एयरपोर्टमा काम, कारबाही भएको छ । एयरपोर्टमा प्राधिकरणको प्रमुखको शासन लागू भएको छ । त्यहाँ मन्त्रालयको के रोल हुन्छ मलाई थाहा छैन, उहाँको आफ्नो खुशीअनुसार कहिले पास खुला गरेको छ, कहिले बन्द गरेको छ, अपाङ्ग हुनुहुन्छ, महिला हुनुहुन्छ । पहिला त्यहाँ चेकिङ काउण्टरसम्म पास लिएर त्यहाँ गएर पठाउने चलन थियो । त्यहाँ न कुनै वैकल्पिक व्यवस्था गरिएको छ । त्यो छैन ।’

सांसद ढकालले विमानस्थल अस्तव्यस्त रूपमा सञ्चालन भइरहेको बताए ।