images
images
images

नाडा अटो शोमा सबै भन्दा कम ब्याजदर कृषिविकास बैंकले प्रस्ताव गर्‍यो, अन्य बैंकका दरहरू कति?

काठमाडौं,  ४ भदौ – राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ सुरू भएकाे छ । यस वर्ष ३० भन्दा बढी स्टल राखिएका छन्, जसमा विभिन्न कम्पनीहरुले आफ्ना नयाँ मोडल प्रदर्शन गरेका छन्।

उक्त शाेलाई लक्षित गर्दै वाणिज्य बैंकबीच अटो कर्जामा प्रतिस्पर्धा चर्किएको छ। सात वाणिज्य बैंकले स्थिर र परिवर्तनीय दुवै ब्याजदरमा आकर्षक अफर सार्वजनिक गरेका छन्। कर्जा दर न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशतसम्म रहेकाे छ।

उत्त शाेमा यसैबीच यस वर्षको अटो शोमा ल्याइएका बैंकिङ अफरमध्ये कृषि विकास बैंक सबैभन्दा सस्तो ब्याजदरमा अटो कर्जा दिने बैंक बनेको छ। बैंकहरूले निक्षेप दर घटेकाले लागत कम भई बेसरेट तल झरेको र सोही कारण आक्रामक दरमा अटो लोन अफर सार्वजनिक गरेका हुन् ।

कृषि विकास बैंक : सबैभन्दा सस्तो

कृषि विकास बैंकले ६.२३ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ। बैंकको बेसरेट ५.८७ प्रतिशतमा ०.३६ प्रतिशत प्रिमियम थपेर यो दर तय गरिएको हो। कर्जाको ०.७५ प्रतिशत प्रोसेसिङ शुल्कमा ३३ प्रतिशत छुट दिइएकाे बैंकले जनाएकाे छ।

नबिल बैंक : स्थिर र परिवर्तनीय दुवै विकल्प

नबिल बैंकले ७ वर्षसम्मका लागि ६.७४ प्रतिशत ब्याजदरमा परिवर्तनीय अटो कर्जा दिनेछ। स्थिर ब्याजदर रोज्ने ग्राहकका लागि भने ८.२५ प्रतिशत ब्याजदर कायम गरिएको छ। यसमा स्थिर कर्जामा ०.२५ प्रतिशत र परिवर्तनीय कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ।

लक्ष्मी सनराइज बैंक : स्थिर ब्याजदरमा कर्जा

लक्ष्मी सनराइज बैंकले ७ वर्ष अवधिका लागि स्थिर ७.९९ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने योजना ल्याएको छ।

बैंकको नाम परिवर्तनीय ब्याजदर स्थिर ब्याजदर अवधि सेवा/प्रोसेसिङ शुल्क
कृषि विकास बैंक ६.२३% ७ वर्ष ०.७५%
नबिल बैंक ६.७४% ८.२५% ७ वर्ष ०.२५–०.५०%
लक्ष्मी सनराइज बैंक ७.९९% ७ वर्ष
ग्लोबल आइएमई बैंक ६.९९% ८.२५% ५ वर्ष
हिमालयन बैंक ७.५७% ८ वर्ष
सानिमा बैंक ७.९९% / ८.१५% ५ / ७ वर्ष ०.५०%
एनएमबि बैंक (विद्युतीय गाडी) ७.१३% नाडा शो अवधिभर

ग्लोबल आइएमई बैंक : दुई प्रकारको स्किम

ग्लोबल आइएमई बैंकले अटो लोनका लागि दुई खाले ब्याजदर ल्याएको छ। परिवर्तनीय कर्जामा ६.९९ प्रतिशत ब्याजदर लागू हुनेछ भने ५ वर्ष अवधिको स्थिर कर्जामा ८.२५ प्रतिशत ब्याजदर तोकिएको छ।

हिमालयन बैंक : दीर्घकालीन स्किम

हिमालयन बैंकले ८ वर्ष अवधिका लागि ७.५७ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ। बैंकले बेस रेटमा ०.८७ प्रतिशत प्रिमियम तोकर अटो कर्जा दिनेछ।

सानिमा बैंक : ५ वर्षदेखि ७ वर्षसम्म

सानिमा बैंकले ५ वर्ष अवधिको लागि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा र ७ वर्ष अवधिको लागि ८.१५ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउनेछ। यसमा ०.५० प्रतिशत प्रोसेसिङ शुल्क लाग्नेछ।

एनएमबि बैंक : विद्युतीय गाडीका लागि विशेष

एनएमबि बैंकले नाडा अटो शो अवधिभर विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि ७.१३ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ।