” तनहुसुर दरबारस्क्वायर”
पेशाले शिक्षकभएकोले यस कथाको पात्र शुक्रबारे अतिरिक्त कार्यक्रम सिध्याएर चाँडैनै विद्यालयबाट तनहुँसुर जाने ताना बुनेको हुन्छ । विद्यालयमा शिक्षक साथीहरूबीच तनहुँसुर रातबस्ने गरी भोज खान (Night stay picnic) जाने भनी बहस चलिरहेको थियो यस कथाको पात्रचाडै नै स्कूलबाट फर्केर कोठामा आउँछ उसको कोठाबाट देखिने तनहुँसुरको चुच्चो र टुप्पोमा देखिने नमस्ते मोबाइलको टावरतिर हेर्छ। यसकथाको पात्र पहिले एकपटक तनहुँसुर पुगिसकेको छ, सायद त्यो पहिलो तनहुँसुरे भ्रमण उसको जीवनको अविस्मरणीय भ्रमण भएको छ। तीघटनाक्रमहरू अझै पनि कहिलेकाहीं उसको मानसपटलमा सलबलाउन पुग्छन् । अनि एकछिन झोक्राउन ऊ बाध्य हुन्छ । पहिलोपटक तनहुँसुर उक्लदा बाटो बिराएर टुँडीखेल तर्फबाट उक्लिनपुग्छ । बडो कष्टसाथ काडेतारबारबाट छिरेर दरबारतिर ऊ उक्लेको थियो। फेरि दरबारबाट अहिलेको टावर रहेको ठाउँतिर हिँड्दैगर्दा डाँडाबाट तल देखिने मनै लोभ्याउने गरी फुलेको लालीगुराँसमा ज्यानकै बाजी लगाएर टिपेको उक्त एक थुंगा लालीगुराँस पछि उसले आफ्नी पहिली प्रेमिकालाई उपहार दिएको थियो । टिपेको धेरै दिन भएर ओइलाए तापनि उसकी प्रेमिकाले खुसी हुँदै उक्त उपहार स्वीकार गरेकी थिइन् । उनी उसलाई उक्त ठाउँमा आफूलाई पनि लग्न अनुरोध गरेकी थिइन् ।तर उसले उसकी प्रेमिकालाई उक्त ठाउँमा लग्न नपाउँदै उसकी प्रेमिका यस धर्तीबाट सदाको लागि बिलिन भइन् ।
कोठामा आएपछि यस कथाको पात्र उक्त डाँडापट्टि हेर्छ । पुरानो घटना सम्झन्छ ।एकछिन झोक्राउन पुग्छ, फेरि एक्लै तनहुँसुर उक्लन बोर लाग्छ । एकछिन खाटमा पल्टन्छ,निदाउँछ अनि सपना देख्छ ।सपनामा ऊ दुईतिर ढुङ्गाले चिठेर बनाइएको खम्बा अनि माथिपट्टि मन्दिरको जस्तो गजुर भएको अनि त्यहाँ ठूला अक्षरमा तनहुँसुर दरबार स्क्वायर हार्दिक स्वागत गर्दछ, लेखिएको गेटबाट भित्र प्रवेश गर्दछ । ठूला फराकिला ढुङ्गाहरूले चिठेको सफा बाटो हुँदै गेट नजिकै गएको गद्धि चौतारीमा पुग्छ । विगतदेखि वर्तमानसम्मको इतिहासलाई आफ्नै आँखाले देखेको अनि व्यथाहरूलाई छातीमा लुकाइराखेको तर पनि हरियाली झुम्म भएको पीपलको चौतारी गद्धि चौतारी । मेरो कथाको पात्र दङ्ग पर्छ किनभने चौतारीमा भएको गद्धि अहिलेको जस्तो छानोको ढुङ्गा उक्किएको अनि काठ मक्रालिएको अवस्थामा थिएन। त्यहाँ त सुनको जलप लगाइएको तामाको छाना भएको पहिलेको राजाले राजगद्धि सम्हाल्ने जस्तो राजगद्धि चौतारी थियो ।
अनि चौतारीमा एउटा सिङ्गमरमरको ढुङ्गामा उक्त गद्धि चौतारीको इतिहास लेखिएको थियो । गद्धि चौतारी नजिकैका ठूलाठूला ढुङ्गाले छाएका घरहरूको अगाडि ठूला अंग्रेजी अनि नेपाली अक्षरहरूले लेखिएका बोर्ड अनि ब्यानरहरु चाँदीको साङ्लोले बाँधेर झुण्याइएको थियो । जहाँ कुनै कफी हाउस,बेकरी हाउस, कुनै रेष्टुरेण्ट आदि थिए । घरहरूको अगाडि ढुङ्गाले चिठेको आँगनमा गाउँले पारामा निर्माण गरिएको बाँस, निगालो, बेत र चोयाले बनेको मेच र कुर्सीहरु थिए । चोकको घुमाउने घर जुन गाउँलेहरूको गाउँ विकास बोर्डको कार्यालय र त्यही घरमा एउटा पुस्तकालय पनि स्थापना गरिएको थियो । जुन पुस्तकालयलाई विभिन्न स्वदेशी र विदेशी संस्थाहरूले सबै प्रकारका पुस्तकहरू उपलब्ध गराएका थिए ।चोक हुँदै उक्त ढुङ्गाले चिठेको सफा बाटोमाथि डाँडातिर उकासिएको थियो । जुन बाटो पुरानो शैलीमा निर्माण गरिएको दरबारमा पुगेर टुङ्गिएको थियो । दरबारको साथैमा एउटा म्युजियम पनि थियो । उक्त म्युजियममा पुरानो तोप, पुराना हातहतियार र त्यसकाे बारे ठूलाअक्षरमा टाइप गरिएर बाइसे चौबीसे राज्य हुँदाबखतको तनहुँसुर राज्यको इतिहासभित्तामा टाँसिएको थियो । साथै नजिकैरहेको विष्णुमन्दिरमा पनि हिन्दुधर्मप्रति आस्था राख्ने भक्तजनहरूको घुइँचो थियो । मन्दिरबाट थोरै उत्तरतर्फ ढुङ्गाले चिठेको बाटो झर्छ मेरोकथाको पात्र ।
अब ऊ टुँडिखेल पुग्छ। टुँडिखेलमा गाइहरू चर्दै थिए। नजिकै निलो पानी भएकोपोखरीमा एक जोडी सेता हाँस पौडदै थिए ।टुँडिखेलको छेउमा लालीगुरासका बोटहरू प्रशस्तै देखिन्थे तिनमा फुलेको फूलहरू अहो । एक जोडी विदेशी पर्यटक टुँडिखेलको छेउमा हिमाल हेर्दै प्रेमलाप गरिरहेका थिए । एउटा नेपाली युवक आफ्नी प्रेमिकालाई घुँडा टेकी एक थुंगा लालीगुराँस दिर्दै भन्दै थियो, “विल यु मेरी मी ?” उसकी प्रेमिका मुस्काउँदै उसलाई हेर्दै थिई। मेरो कथाको पात्र एक छिन टोलाउँदै बोटमा फुलेको लालीगुराँस हेरिरहन्छ ।
फेरि मेरो कथाको पात्रदरबारतिर उक्लेर दरबारबाट पश्चिमतर्फ उकासिएको ढुङ्गाको सिँडी लगाएको बाटो फोन र लोकल तनहुँसुर एफ. एम. काे टावर भएतिर लाग्ने सफा सल्लाका पातहरू छरिएको बाटो उकालो लाग्दै गयो । उत्तरतर्फ सेतो हाँसेका हिमालहरू पूर्वतिर लमतन्न परेको चुदीफाँट हेर्दै उक्त ठाउँमा पुग्छ ।त्यहाँबाट फेरि रेलिङबार भएको सिँडीलगाएको बाटो जहाँबाट दक्षिणतिर तल सुन्दर देखिने तनहुँसुर दरबार स्क्वायर र उत्तरतिर ठाडो भिर भएको बाटो ओरालिन्छ । अनि ऊ ठूलो तोप र त्यो तोपकोइतिहास लेखिएको ठाउँमा पुग्छ । फेरि रक क्लाइम्बिङ्ग हुने जस्तो ठाडो भिर सिमेन्टेड गरी बनाइएको उकालो बाटो र बाटोको साइडमा रहेको रेलिङ्ग समात्दै ऊ पार्क डाँडा र भ्यू टावर भएको ठाउँमा उक्लिन पुग्छ । जहाँ डाँडाको टुप्पोमा अलिकति सम्म परेको भू-भागमा एउटा रमणीय पार्कको निर्माण गरिएको थियो । बीचमा पानीको फोहोरा फालिएको त्यस पार्कमा हिमाली भेकमा पाइने जडीवुटीहरू(विरुवाहरू)ठिङ्गुरे,राइसल्लो,भोजपत्र, चुत्रो, चिराइतो आदि लहरैसँग मिलाएर रोपिएको थियो र ती बोटहरूसँगै राखिएको सेतो प्लेटमा कालो अक्षरले तीविरुवाहरूको बोटानिकल नाम पनि लेखिएकोथियो । त्यही पार्कको छेउमा एउटा तीनतले भ्यू टावर पनि निर्माण गरिएको थियो । उक्त टावरबाट पोखरा अनि काठमाण्डौ पनि देखिन्छ भन्दै थिए ,टावर चढेर झरेका स्वदेशी अनि विदेशी पर्यटकहरू । साथै विभिन्न छुट्टाछुट्टै ठाउँहरूमा रहेका ऐतिहासिक ठाउँहरू जस्तै रानीले नुहाउने कुवा, ऐना हेर्ने ढुङ्गा आदि ठाउँहरूलाई तारबारले संरक्षण गरी त्यसको बाहिर सिङ्गमर्मरको ढुङ्गामा उक्त ठाउँको बारे जानकारी दिने सूचनाहरू टाँसिएका थियो ।
विस्तारै मेरो कथाको पात्र ध्यान विस्तारै दरवार स्क्वायरभित्र रहेको फराकिलो चोक जहाँभुइँमा फराकिलो र चम्किलो ढुङ्गाहरू ओछ्याइएको ठाउँमा विभिन्न भेषभूषा गुरुङ्ग, मगर, नेवारआदि महिला अनि पुरुषहरू मादल वाँसुरी, खैजडी आदि गाउँले वाद्यवाधनका सामग्रीहरू लिएर कौरा, धाटु आदि नृत्यले स्वदेशी एवम् विदेशी पर्यटकहरूलाई स्वागत गर्न उपस्थित भिडतिर केन्द्रित हुन्छ। त्यहाँ उपस्थित सबै महिलाहरूको शिरमा रातो लालीगुराँसको एउटा थुङ्गा फूल थियो । मेरो पात्र अचम्मित हुन्छ, ती महिलाहरूकोभिडमा उसकी बिलाएकी पहिली प्रेमिकाओइलाएको लालीगुराँस फूल (जुन उसले उपहार दिएको थियो) कपालमा सिउरेर उपस्थित थिई । अब ऊ उनीसँग बोल्नलाई भिडतर्फ अघि बढ्छ ।वडो कष्ट गरेर ऊ उनको नजिक पुग्छ र उसलाई एकान्त लाने प्रयास गर्छ, तर उनी एकान्त जान मान्दिनन् । अनि भन्छिन् “तपाईं सपना देखिरहनुभएको छ । तर, पुरा हुने खालको सपना । मलाई विश्वास छ, यो सपना साकार हुनेछ ।” यति भनेर उसकी प्रेमिका उक्त भिडमा हराउन पुग्छिन् ।उसले निकै खोज्ने प्रयास गर्छ । तर झमझम बजेको मादल, खैजडीका आवाजसँगै उसकोप्रयास टाढा कतै पुगेर बिलाउँछ।स्वगत कार्यक्रम सिद्धिन्छ । रातपरिसकेको थियो उ अलमल पर्छ । अब कहाँ जाने, के खाने ? त्यसै क्रममादौरा सुरुवाल अनि भादगाउँले टोपी लगाएकोएकजना बूढाले मेरो कथाको पात्रको हातमा समाउदै बाबु कहाँबाट होला कुन्नि ? हजुर त आज मेरो भागमा पर्नुभएको छ भन्दै चाेकबाट सिंडी लगाएको बाटो आफ्नो घरतिर ओरालेर ढिडो र लोकल कुखुराको मासुले उसलाई स्वागतगरे । दिनभर थाकेकाले होला उसले धेरै नै खाइदिन्छ । खाइसकेपछि बूढालाई पैसा तिर्नखोज्दा बूढा लिन मान्दैनन्। कर गर्ने क्रममा मेरो उ अकस्मात व्युँझन्छ । उ आफूलाई आफ्नै कोठाको खाटमा सुतिरहेको पाउंछ। अनिउठेर झटपट काेठाको झ्याल खोलेर तनहुँसुरको टुप्पोतिर हेर्छ । तनहुँसुरको टुप्पोमा देखिने नमस्ते मोवाइलको टावार देखिन छोडिसकेको थियो ।सन्ध्याले आफ्नो जगल्टा फिजाइसकेकी थिइन् ।प्रसस्तै सम्भावना बोकेको तनहुँसुर डाँडा अँध्यारोमा धुम्ममूर्ति उभिए जस्तै गरी उभिइरहेको थियो।
–
वंश
सुदीप(२०६७,कार्तिक)
“समाप्त”![]()
राधे!राधे!










