काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारीलाई जवाफ फर्काएका छन्।
ओलीले नवीकरण भएको पार्टी सदस्यता एक वर्षपछि गत केन्द्रीय कमिटीको बैठकबाट नवीकरण नै नहुने निर्णय गराएका थिए। त्यसको बचाउ र भण्डारीको आरोपको प्रतिवाद गर्दै ओलीले राष्ट्रपति भएसँगै सदस्यता सकिएको र नयाँ लिएर अघि बढ्नुपर्ने तर्क गरे।
शुक्रबार च्यासलमा पार्टी प्रवेश गराउँदै ओलीले भने, ‘अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएको छ । खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो। हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन। उहाँले बाहिर बाहिर बोल्नुभएको छ। पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन ।’
बिहीबार सम्पर्क कार्यालयको उद्घाटन गर्दै भण्डारीले आफ्नो पार्टी सदस्यमा च्यासलले प्रश्न उठाएको भन्दै आपत्ति जनाएकी थिइन्। उनले आफू पार्टीमा बढेको विकृतिविरुद्ध लड्ने उद्घोष गर्दै सरमान्तर गतिविधि गर्ने अठोट गरेकी थिइन्।
उनले भनेकी थिइन्, ‘मलाई कुनै पार्टीले कुनै जिम्मेवारी दियोस् कि नदियोस्, मलाई त्यो कुरासँग मतलब छैन। म नेकपा एमालेको सदस्य हो, त्यो नाताले मैले जुन एउटा सिद्धान्त धारण गरेको छु र सिद्धान्त मैले बुझेको छु, त्यो अनुसार मैले काम गर्ने हो। यदि पार्टीहरुमा विकृति, विसंगति फैलिएको छ भने त्यो विकृति, विसंगतिको विरुद्धमा पनि म लडिरहन्छु।’










