काठमाडौं, भदौ- तीज पर्वको अवसरमा लोकतान्त्रिक महिला संघको आयोजनामा लोसपा नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका शीर्ष नेतादेखि भातृसंगठनका प्रतिनिधि र सांस्कृतिक कलाकारसम्मको उल्लेख्य सहभागिता रह्यो ।
कार्यक्रमका विशेष अतिथि तथा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले तीजलाई महिलाको अधिकार, आत्मसम्मान र सामाजिक एकताको प्रतीक भएको बताए । उनले लोकतान्त्रिक महिला संघको यो पहल सराहनीय रहेको उल्लेख गरे । प्रमुख अतिथि वरिष्ठ सह-अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले महिलाको सशक्तीकरणमा यस्ता कार्यक्रमले प्रेरणा दिने बताए । उनले भने, “महिलाको सहभागिता बिना सशक्त लोकतन्त्र सम्भव छैन।”

त्यसैगरी, लोकतान्त्रिक पत्रकार संघका अध्यक्ष कामरेन्द्र वर्माले सञ्चारकर्मीहरूले महिलासम्बन्धी कार्यक्रममा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । लोसपा नेपालका प्रवक्ता एवम् उपाध्यक्ष डा. अभासले गीत प्रस्तुत गरेर कार्यक्रमलाई झन् मनोरञ्जनपूर्ण बनाए र महिलाको पक्षमा सधैं साथ दिने प्रतिबद्धता जनाए । कार्यक्रमको अध्यक्षता गर्दै लोकतान्त्रिक महिला संघकी अध्यक्ष मिनु ठाकुरले तीज पर्व महिला सशक्तीकरणको प्रेरणास्रोत भएको बताइन् । उनले महिलाको हकहितका लागि संघ निरन्तर सक्रिय रहेको उल्लेख गरिन् ।
कार्यक्रममा महासचिव मनिष मिश्र, डा. सुरेन्द्र झा, सितल यादव, युवा संघका सुजन यादव, विद्यार्थी संघका अध्यक्ष रोशन मिश्रा, पार्टी सचिव अजय झा, पत्रकार संघका पदाधिकारीसहित थुप्रै नेता, प्रतिनिधि, पत्रकार र कार्यकर्ताहरू उपस्थित थिए । तीजको अवसरमा गीत, संगीत र नृत्य प्रस्तुत गरिँदा वातावरण उत्साहपूर्ण बनेको थियो ।










