काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै राजनीति छोड्दा गर्ल्यामगुर्लम्म हुने के छ? भन्दै प्रश्न गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन्। उनले दाहालले आफूले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लम्म झर्छ जस्तो लाग्छ भन्ने अभिव्यक्ति दिएको भन्दै पृथ्वी नै बोकेको जस्तो के छ? भन्ने प्रश्न गरे।
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूले छोड्दा सबै गर्ल्यामगुर्लुम्म ढल्ने हो कि जस्तो लाग्ने गरेको टिप्पणी गरेका थिए। राजनीतिक दलहरुमा पुस्तान्तरण नहुने भन्दै पुस्तान्तरण राजतन्त्रमा मात्रै हुने उनको भनाइ छ।
उनले भने, ‘नाम लिन जरुरी रहेन। तर नेपालमा कुनै राजनीतिक दलका नेता मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लम्म झर्छ जस्तो लाग्छ भन्नुहुन्छ। छोड्नै नमिल्ने भएको छ, त्यस्तो के जाने हो थाहा छैन। छोड्नै नमिल्ने गरी एकछिन पनि। सारा पृथ्वी बोकिरहेको जस्तो गोलमाल हुने ठाउँमा बस्दा यस्तो अवस्थामा हाम्रो नेताहरु हुनुहुन्छ।’










