images
images
images

पशुपतिनाथ क्षेत्रमा तीजको तयारी पूरा

काठमाडौँ – हरितालिका तीज पर्वमा भक्तजनको भीडलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक तथा पार्किङ व्यवस्था मिलाएको छ।

 

कोषले आइतवार पत्रकार सम्मेलन गर्दै मेला अवधिभर पशुपति क्षेत्रलाई पूर्णरूपमा सवारी निषेधित क्षेत्र बनाउनका लागि ट्राफिक तथा पार्किङ व्यवस्था मिलाएको जनाएको हो।

पत्रकार सम्मेलनमा बोल्दै कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भुवनेश्वरी–गौशाला र वनकाली क्षेत्रको दर्शन मार्गमा कुनै पनि साधारण सवारी प्रवेश गर्न नपाउने व्यवस्था गरिएको जानकारी दिए। दमकल, एम्बुलेन्स र घाटसम्म पुग्ने शव वाहनलाई भने छुट दिइने उनले जानकारी दिए।

उनले यो वर्ष लाखौं महिला पशुपतिनाथको दर्शनका लागि आउने भएकाले आवश्यक सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिनुका साथै भीड व्यवस्थापनका लागि स्वयंसेवक, स्काउट, रेडक्रसका टोली खटाइने जानकारी दिए। तीजको दिन भक्तजनलाई गुठीटोल, उमाकुण्ड, रसगुलोचोक, वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश गराइने तथा दक्षिण ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको बताए। उनका अनुसार मृगस्थली–जयवागेश्वरी–पशुपति मार्ग हुँदै दक्षिणतर्फ प्रवेश गरी पश्चिमतर्फबाट निस्कने व्यवस्था गरिएको छ।

ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र अपांगता भएका महिलालाई प्राथमिकतामा राखी सहजीकरण गरिने जोशीले बताए।