images
images
images

लोसपाले मनायो स्थापना दिवस

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आज विविध कार्यक्रम गरी पार्टीको स्थापना दिवश मनाएको छ ।

यस अवसरमा बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थापनाको चौथो वर्षका अवसरमा पार्टीको झण्डोत्तोलनसहित नेता एवं कार्यकर्ताबीच शुभकामना आदानप्रदान गरिएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले पार्टीको झण्डोत्तोलन गर्दै आफूहरूले उठाउँदै आएका मुद्दा सम्बोधन नभएसम्म एकताबद्ध भएर थप पहलकदमी लिन जरूरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेसी समुदायले उठाएका पहिचानसहितका अधिकार र अन्य मुद्दा केही कार्यान्वयन भए पनि अझै धेरै कार्यान्वयन हुन बाँकी छन् । पहिचान र अधिकारप्राप्तिको सङ्घर्षलाई निरन्तरता दिन जरूरी छ ।” अध्यक्ष ठाकुरले पार्टी स्थापनाका अवसरमा नेता कार्यकर्ताबीच आपसी भाइचारा र सहअस्तित्व कायम गरी राजनीतिक विचारधाराको सम्वर्द्र्धनमा लाग्न आग्रह गर्नुभयो ।

एक अर्को प्रसङ्गमा उहाँले लिपुलेक भएर भारत र चीनबीचको व्यापार सम्झौतासम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाटै समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा लोसपा नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीलगायत सांसद, नेता तथा कार्यकर्ताको उपस्थिति थियो । विसं २०७८ मा जनता समाजवादी पार्टीबाट विभाजन भएर महन्थ ठाकुरको अध्यक्षतामा लोसपा गठन भएको थियो ।