images
images
images

विदेशी एयरलाइन्सलाई आकर्षित गर्दै पोखराबाट अष्ट्रेलिया उडानको योजना

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अब अष्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलियासम्म नियमित उडान गर्न अनुमति प्रक्रियामा प्रवेश गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयरलाइन्सले औपचारिक प्रक्रिया पूरा गर्न पहल गरिरहेको र सेप्टेम्बर महिनाबाट उडान सुरु गर्ने योजना रहेको जानकारी दिए।

सिचुवान एयरलाइन्सले यसअघि पनि पोखरामा चार्टर्ड उडान सञ्चालन गरेको थियो। फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ का अवसरमा चिनियाँ प्रतिनिधि र पर्यटकलाई ल्याउने–लैजाने प्रयोजनमा एयरबस ‘ए’ ३१९ प्रयोग गरिएको थियो। कम्पनीले अब नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा यात्रु सेवा विस्तार गर्न खोजेको हो।

पोखरा विमानस्थलमा हाल हिमालय एयरलाइन्सले मात्रै हप्तामा एकपटक नियमित उडान सञ्चालन गरिरहेको छ। सिचुवानसहित भूटान एयरलाइन्सले पनि चार्टर्ड उडानका लागि अनुमति मागेका छन्। भूटान एयरलाइन्सले पारो इन्टरनेसनल एयरपोर्टसहित सेप्टेम्बर २८ र अक्टोबरमा चार दिनका लागि यात्रु चार्टर्ड उडान गर्न अनुमति मागेको छ। नियमिततामा परिणत भएमा पारो–पोखरा–दिल्ली उडान सुरु गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ।

अष्ट्रेलियातर्फको उडान सुरु भएमा नेपाली यात्रु, विद्यार्थी र व्यवसायीलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ। यस्तै, भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा पनि जजिरा एयरवेज र थाई एयर एसियाले विन्टर सिजनदेखि पुनः उडान सुरु गर्ने भएका छन्।

सरकारले पोखरा र भैरहवाबाट हुने अन्तरराष्ट्रिय उडानलाई प्रोत्साहनस्वरूप पार्किङ, ल्यान्डिङ, न्याभिगेसन शुल्कमा पूर्ण छुट दिएको छ भने नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ। यी दुवै विमानस्थल सक्रिय बनेसँगै विदेशी वायुसेवा कम्पनी थप आकर्षित हुने प्राधिकरणको विश्वास छ।