images
images
images

थाइल्याण्डको अदालतले गर्‍यो प्रधानमन्त्री सिनावात्रालाई बर्खास्त

बैङ्कक – थाइल्यान्डको संवैधानिक अदालतले शुक्रबार कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको फोन कलमा नैतिकता र संवैधानिक नियम उल्लङ्घन गरेको ठहर गर्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट बर्खास्त गरेको छ।

फैसला लागू हुनेबित्तिकै पेटोङटार्नले आफ्नो लगभग एक वर्षदेखि रहेको जिम्मेवारी गुमाउने छिन्। अदालतले उनीविरुद्धको मुद्दाको सुनुवाइमा सहमति जनाएपछि जुलाई १ मा उनलाई निलम्बन गरिएको थियो र उपप्रधानमन्त्री फुमथम वेचाचाईले जिम्मेवारी सम्हालेका थिए।

पेटोङटार्नले जुन १५ मा हुन सेनसँग गरेको फोन कलको उद्देश्य दुई मुलुकबीचको सिमानामा प्रतिस्पर्धी दावीलाई लिएर तनाव कम गर्नु थियो, तर उक्त फोन कलले राष्ट्रिय सुरक्षामा असावधानी देखाएको र थाई सेनाका जनरललाई बदनाम गरेको आरोप लगाइएको थियो।

सन् २०२३ मा कम्बोडियाका प्रधानमन्त्री पदमा रहेका आफ्ना छोरा हुन मानेटले पदभार ग्रहण नगरेसम्म हुन सेनले ३८ वर्ष शासन गरेका थिए।

मे महिनामा विवादित सीमा क्षेत्रमा भएको छोटो हिंसात्मक घटनामा कम्बोडियाका एक सैनिकको मृत्यु भएपछि यो फोन कल भएको थियो। जुन महिनाको अन्त्यमा दुई मुलुक पाँच दिनको लडाइँमा संलग्न हुँदा दर्जनौँ मानिस मारिए भने दुई लाख ६० हजारभन्दा बढी विस्थापित भए। रासस/एपी