काठमाडौं, १५ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक हुँदै भारत–चीनबिच भएको व्यापारिक मार्ग खोल्ने सम्झौता नेपालका भू-भाग प्रयोग हुने भएकाले पालना नगर्न चीनलाई आग्रह गरेका छन् ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा नेपालको दाबी स्पष्ट गर्दै उक्त विषयमा आपत्ति जनाएका हुन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले सन् १८१६ को सुगौली सन्धीले नेपालको सीमा निर्धारण गरिसकेको र महाकाली नदीको पूर्वका सबै भू–भाग नेपालकै भएको पुनः स्मरण गराए । उनले भने, ‘नेपाली सार्वभौम भू–भाग प्रयोग हुने गरी गरिएको सम्झौता नेपालका लागि अस्वीकार्य छ । चीन सरकारले उक्त सम्झौता पालना नगरोस् भन्ने स्पष्ट आग्रह प्रधानमन्त्रीज्यूले गर्नुभयो ।’
सचिव राईका अनुसार चिनियाँ राष्ट्रपति सीले नेपालको दाबीलाई कमी हुन नदिने आश्वासन दिएका छन् । उनले भने, ‘नेपाल–भारतबिचको सीमा विवाद दुई देशले आपसमा समाधान गर्नुपर्ने विषय हो । चीन कुनै पक्ष बन्न चाहँदैन तर नेपालले राखेको दाबीमा हाम्रो तर्फबाट कुनै सम्झौता हुँदैन ।’
यस भेटवार्तामा दुवै नेताबिच आपसी हितका विषय, द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय सहयोगबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।










