images
images

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीचको विवाद मिल्यो, यस्तो भयो सहमति

जनकपुरधाम–२० रुपैठामा दुई समुदायबीचकै सहमतिमा विवाद समाधान गरिएको छ । शनिबार सुरु भएको विवाद हल गर्ने प्रयासमा सोमबार भएको सर्वपक्षीय बैठकमा हिन्दु र मुस्लिम समुदाय दुवै सहमतिका लागि तयार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार, १४ र १५ भदौमा भएको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने र भविष्यमा कुनै पनि समुदाय वा व्यक्तिले धार्मिक वा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्ने सहमति भएको छ । त्यस्तो गतिविधि गर्न खोज्ने व्यक्तिमाथि सूक्ष्म निगरानी गरी कानुनी प्रक्रिया अघि बढाइने पनि बैठकमा निर्णय भएको छ ।

सहमतिअनुसार, दुवै पक्षले सामाजिक सद्भाव कायम राख्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सद्भाव कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि र दुवै धार्मिक समुदायका अगुवाहरू सहभागी बैठकले विगतमा तेलिया पोखरीमा भएको विवाद व्यवस्थापन गर्ने विषयमा पनि सहमति गरेको छ ।

गत शनिबार गणेश पूजाको मुर्ति बिसर्जनपछि फर्कने क्रममा हिन्दू समुदायले स्थानीय टावरलाइट पोलमा बाँधिएको हरियो झण्डा हटाउन खोज्दा विवाद उत्पन्न भएको थियो । त्यही क्रममा दुवै पक्षबीच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ११ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

आइतबार फेरि प्रहरी र हिन्दुपक्ष बीच झडपसमेत भएको थियो । अवस्था नियन्त्रणबाहिर गएपछि प्रहरीले ३० राउन्ड फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो । सो घटनामा स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया दुवै खुट्टामा गोली लागि घाइते भएका छन् भने ढुंगामुढामा सात जना प्रहरी घाइते भएका छन् ।