काठमाडौं- शिक्षा विधेयकको विरोधमा आन्दोलनरत निजी विद्यालयहरूले आगामी मंगलबार र बुधबार काठमाडौँभरिका विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।
निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेका अनुसार भदौ २४ र २५ गते काठमाडौंभरिका विद्यालय बन्द गर्ने गरी आन्दोलन गर्न लागिएको हो।
यसअघि आन्दोलनका कार्यक्रम घोषणा गर्दै निजी विद्यालयका विभिन्न छाता संगठनहरू – प्याब्सन, नेसनल प्याब्सन, हिसान, एपेन र एनएमएले भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए। यद्यपि उनीहरूले यो घोषणा फिर्ता लिएका छन्।
निजी विद्यालयहरूले विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्नेलगायत माग राख्नुका साथै ‘गैरनाफामूलक’ बनाउँदै लगिने प्रावधान पनि हटाउनुपर्ने माग राखेका छन्।
निजी विद्यालयका छाता संगठनहरूले भदौ १९ गते बिहान ११ बजे देशभरका सबै जिल्ला सदरमुकाममा आन्दोलनरत संस्थाका सदस्य विद्यालयको अनिवार्य उपस्थितिमा बृहत् खबरदारी सभा आयोजना गर्ने कार्यक्रम राखेका छन्।










