images
images
images

भूमि ऐन ल्याएर मधेसीलाई मधेसमै अल्पसंख्यक बनाउने षड्यन्त्र भयोः महन्थ ठाकुर

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भूमि ऐनले मधेसीहरूलाई एकजुट भएर सङ्घर्ष गर्न बाध्य बनाएको बताएका छन्।

सप्तरीको राजविराजमा आयोजित सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कार्यक्रममा अध्यक्ष ठाकुरले मधेसीको जन्म नै सङ्घर्षका लागि भएकोले उनीहरू सङ्घर्षबाट पछि नहट्ने बताएका हुन्।

भूमि ऐन मधेसीलाई मधेसमै अल्पसङ्ख्यक बनाउने षड्यन्त्र रहेको उनको भनाई थियो । उनले भने, ‘मधेसीसँग अब दुई विकल्प मात्र छन्, लडेर आफ्नो अधिकार लिने वा सकिने।’

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेसको उब्जाउ भूमिलाई शासक वर्गले विभिन्न चरणमा वितरण गर्दै आएको उल्लेख गर्दै अहिले ल्याइएको भूमि ऐनले मधेसलाई मरुभूमि बनाउन खोजेको बताए। उनले मधेसलाई आन्तरिक उपनिवेश बनाएर अझै शासन भइरहेको जिकिर गरे । उनले समान जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताए।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अहिलेको सत्ता गठबन्धन लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास भएको टिप्पणी गर्दै मोर्चाका घटक दलका नेताहरूले एकजुट भएर अधिकारका लागि अघि बढ्नुपर्ने बताए। उनले आदिवासी, जनजाति र अन्य उत्पीडित समुदायसँग मिलेर मात्र अधिकार सुनिश्चित गर्न सकिने बताए।

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मोर्चा कमजोर पार्न कुनै दलले प्रयास गरेमा जनता अघि आउनुपर्ने चेतावनी दिए। उनले भूमि विधेयक मधेसी र सुकुम्वासीको हितका लागि नभई भूमाफियाका लागि ल्याइएको र तराई–मधेसलाई मरुभूमि बनाउन खोजिएको बताए।

तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले गठबन्धन सरकारले कुशासन र भ्रष्टाचार बढाएको र आन्दोलनकारीमाथि लागेको झुटा मुद्दा फिर्ता लिनुपर्ने बताए।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय कोषाध्यक्ष टीका लक्ष्मी चौधरीले नश्लीय शासनबाट देशले मुक्ति खोजेको र सबै दल मिलेर मात्र अधिकार प्राप्त गर्न सकिने बताए।

मोर्चाले पहिलो चरणमा देशका आठ ठाउँमा जनजागरण अभियान सञ्चालन गर्ने तय गरेको छ। आगामी कार्यक्रम भदौ २० गते जनकपुरधाममा हुनेछ।