काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेककोबारे भारतसँगै वार्ता गरेर समाधान खोज्ने बताएका छन्।
शुक्रबार ललितपुरमा पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले सीमा समस्याको समाधानका लागि भारतसंग वार्ता गर्ने बताएका हुन्।
लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेकाले राष्ट्रपति सी जिपिङ्गसँग असहमति प्रकट गरेको उनले जानकारी दिए। आफूले राष्ट्रियताप्रति कुरा उठाउँदा केही ‘जान्नेसुन्नेहरुले’ गलत व्याख्या गरेको समेत उनले बताए। उनले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपालले कुनै प्रतिक्रिया नगरेको समेत स्पष्ट पारेका छन्।
अध्यक्ष ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रिय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको दावी गरे। एमाले पार्टी र त्यसका नेताहरूलाई जतिसुकै गालीगलौज गरे पनि नेपाली जनताले विश्वास नगर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले जनताकाबीच पुगी अझ विश्वास जित्न सके ८४ सालमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न नसक्ने जिकिर गरेका छन्।
उनले कांग्रेससँग आफूहरूले सहकार्य थालेपछि अस्थिरता र अराजकता नियन्त्रणमा आएको दावी पनि गरे। त्यस्तै ठूला दुई पार्टीको सहकार्यले माओवादीलाई म्याजिक नम्बर रहेको भ्रमबाट मुक्त गरिएको उनको भनाइ छ। अध्यक्ष ओलीले विधान महाधिवेशनमा विधानमा मात्रै छलफल केन्द्रित हुने बताए। पार्टीमा कतिपय विषयहरू अनावश्यक ढङ्गले संवेदनशील बनाइएको उल्लेख गर्दै उनले ती बिषयहरु विधान महाधिवेशनसँग सम्बन्धित नरहेको धारणा राखेका छन्।
उनले पार्टीप्रति आमजनता र कार्यकर्ताले देखाएको विश्वासका कारण आन्दोलन हाँक्न सक्ने शक्ति प्राप्त भएको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताको सजगताप्रति आफू ढुक्क रहेको बताए। त्यस्तै अध्यक्ष ओलीले विधान महाविधेशनमा राजनीतिक प्रतिवेदन समेत प्रस्तुत गरेका छन्।










