images
images
images

जेन-जी युवाद्वारा विद्रोह आह्वान, भोलिलाई प्रदर्शन आह्वान गर्दै तात्यो सामाजिक सञ्जाल

काठमाडौँ- सामाजिक सञ्जालमा ‘जेन-जी युवाहरु सडकमा !’ भन्ने नाराका साथ भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोग विरुद्ध युवा पुस्ताले ठूलो आन्दोलनको घोषणा गरेका छन्।

सेप्टेम्बर ८ मा काठमाडौंको माइतीघर मण्डलामा हुने भनिएको यो विरोध प्रदर्शनले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ।

हालै सामाजिक सञ्जालमा भाइरल भएका भिडियो तथा तस्बिरहरूमा नेताका छोराछोरीहरू विलासी जीवनशैली, महँगा ब्रान्डका सामान र विदेश घुमघाममा रमाइरहेको देखाइएको छ, जबकि साधारण नेपाली जनता आफ्नो दैनिक जीवन धान्न संघर्ष गरिरहेका छन्।

युवा पुस्ताले यस आन्दोलनलाई देशमा विद्यमान भ्रष्टाचार र असमानताको विरुद्धमा ‘ठोस कदम’ भनेर व्याख्या गरेका छन्।

उनीहरूले यसलाई इतिहास लेख्ने दिनको रूपमा चित्रण गर्दै आम जनतालाई माइतीघरमा भेला हुन आह्वान गरेका छन्।

सामाजिक सञ्जालमा यो ट्रेन्ड तीव्र गतिमा फैलिएको छ र यसले युवाहरूमाझ ठूलो असन्तुष्टि रहेको देखाएको छ।

सामाजिक सञ्जाल, विशेषतः टिकटकमा भाइरल भएको ट्रेन्डले आन्दोलनको लहरलाई तीव्र बनाएको छ।

यता, साधारण नेपाली जनता भने दैनिक जीवन धान्न संघर्षरत छन्। महँगी, बेरोजगारी र सेवामा पहुँचको अभावले जनजीवन कष्टकर बनेको दृष्य सामाजिक सञ्जालमा भाइरल छन्।

माइतीघर मण्डला, जुन विगतमा पनि जनआन्दोलनको प्रतीक बनिसकेको छ, फेरि एकपटक युवाहरूको आवाजले गुञ्जिने युवाहरूले बताएका छन्।

आयोजकहरूले शान्तिपूर्ण प्रदर्शनको आह्वान गरेका छन्, जहाँ प्लेकार्ड, नाराहरू र सांस्कृतिक प्रस्तुति मार्फत जनभावना अभिव्यक्त गरिनेछ।