images
images
images

प्रहरीको गोलीबाट घाइते जेन–जी उपचाररत सिभिल अस्पतालभित्रै प्रहरीको धरपकड

काठमाडौं – प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका जेन–जीहरुलाई प्रहरीले अस्पताल परिसरभित्रै पुगेर धरपकड गरेको छ ।

घाइते प्रदर्शनकारीको रेखदेखमा रहेका अरु प्रदर्शनकारीहरुलाई पनि नियन्त्रणमा लिने क्रममा अस्पताल हाताभित्रै पुगेर प्रहरीले कुटपिट गरेको छ ।

बानेश्वर क्षेत्रमा प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार नजिकैको सिभिल अस्पतालमा भइरहेको छ । घाइतेहरुलाई लैजाने क्रममा प्रदर्शनकारी पनि प्रवेश गर्ने र उनीहरुलाई पछ्याउँदै प्रहरी पनि प्रवेश गरेर धरपकड गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रहरीले अस्पतालको आकस्मिक भवनबाहिरै अश्रुग्यास प्रहार गरेको छ । उपचारमा संलग्न चिकित्सक र नर्सहरुलाई पनि समस्या भएको छ ।

प्रहरीले माइकिङ गर्दै प्रदर्शनकारीलाई बाहिर निस्किन चेतावनी दिइरहेको छ । चिकित्सकले प्रहरीलाई अस्पताल बाहिर जान आग्रह गरे पनि प्रहरीले अटेर गरेको छ ।

सिभिल अस्पतालमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको छ भने करिब एक सय जना घाइते छन् । अहिलेसम्म आन्दोलनमा प्रहरीको गोली लागेर काठमाडौंमा १६ जनाले ज्यान गुमाइसकेका छन् भने इटहरीमा दुई जनाले ज्यान गुमाएका छन् ।

अन्य घाइतेहरुको बीर अस्पताल नजिक रहेको राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, केएमसी, एभरेष्ट अस्पताल र पाटन अस्पतालमा समेत उपचार भइरहेको छ ।