images
images
images

हिंसात्मक जेन-जी आन्दाेलनबारे ज्ञानेन्द्र शाही : प्रधानमन्त्री र गृहमन्त्रीलाई जेल पठाउनुपर्छ

काठमाडौं  -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जेन–जी (Gen–Z) पुस्ताले सुरु गरेको आन्दोलनलाई दमन गर्न सरकारले हत्याकाण्ड मच्चाएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी ओली र गृहमन्त्रीबाट राजीनामा दिइसकेका रमेश लेखकले राजीनामा दिएर मात्र नपुग्ने भन्दै नरसंहारको मुद्दामा उनीहरूलाई पक्राउ गरी जेल पठाउनुपर्ने बताएका छन्।

 

​आन्दोलनमा भएको दमनलाई लिएर सांसद शाहीले सामाजिक सञ्जालमार्फत भनेका छन्, “यो राजीनामा माग्ने समय होइन। नरसंहार गरेर हत्याकाण्ड चलाएको मुद्दामा हत्कडी हालेर पक्राउ गर्दै जेल चलान गर्ने हो।”

साेमबार काठमाडौंको माइतीघर मण्डला, बानेश्वर क्षेत्र र देशका अन्य प्रमुख शहरहरूमा जेन–जी पुस्ताले गरेको विरोध प्रदर्शन हिंसात्मक बन्याे। विशेषगरी, शिक्षा, स्वास्थ्य, रोजगारी र भ्रष्टाचारविरुद्धको यो आन्दोलनले युवाहरूलाई एकजुट बनाएको छ। प्रदर्शनकारीहरूले सरकारको कार्यशैलीको विरोध गर्दै विभिन्न नारा लगाएका थिए।

​यसै क्रममा, केही स्थानमा प्रदर्शन नियन्त्रण बाहिर गएको र प्रहरीसँग झडप हुँदा स्थिति तनावपूर्ण बनेको थियो। झडपका क्रममा हालसम्म १९ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ भने सायाैँ घाइते भएका छन्। सरकारले आन्दोलनलाई शान्तिपूर्ण रूपमा समाधान गर्नुको साटो बल प्रयोग गरेको भन्दै विभिन्न राजनीतिक दल र नागरिक समाजले आलोचना गरेका छन्।