images
images
images

जेन-जी आन्दोलनमाथि प्रहरी दमनबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो, तत्काल छानबिनको माग

काठमाडौँ – नेपालमा जेन-जेड समूहले गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोग र प्रदर्शनकारीको मृत्युबारे संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ।

राष्ट्रसंघको मानव अधिकार कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीको हत्या र घाइते भएको घटनाबाट आफू स्तब्ध भएको जनाएको छ।

 

विज्ञप्तिमा युवा समूहहरूले भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले ‘अनावश्यक वा असमानुपातिक बल प्रयोग’ गरेको भन्ने गम्भीर आरोपहरू प्राप्त भएको उल्लेख छ।

संयुक्त राष्ट्रसंघले नेपाली अधिकारीहरूलाई शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सम्मान गर्न र सुनिश्चित गर्न आह्वान गरेको छ। साथै, सबै सुरक्षाकर्मीहरूलाई बल प्रयोग र हतियारको प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तहरूको पालना गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा नेपालको जीवन्त लोकतन्त्र र सक्रिय नागरिक समाजको प्रशंसा गर्दै युवाहरूको चासोलाई सम्बोधन गर्न संवाद नै उत्तम माध्यम भएको सुझाव दिइएको छ।

राष्ट्रसंघले सामाजिक सञ्जाललाई नियमन गर्ने उपायहरू नेपालको मानव अधिकारसम्बन्धी दायित्वहरूसँग मेल खाने सुनिश्चित गर्नका लागि पुनर्विचार गर्न पनि अनुरोध गरेको छ।