काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईंले पनि बुधबार सेनाप्रमुख अशोकराज सिग्देलसँग सैनिक मुख्यालयमा भेट गरेका छन्। उनले आफू पूर्वप्रधान न्यायाधीश सुशीला कार्की वा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई समर्थन गर्ने जानकारी पनि दिएका छन्।
उनले अबको बाटोका बारेमा बुधबार दिनभर प्रधानसेनापतिसँग छलफल भएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन्।
उनले सैनिक प्रमुख सिग्देलसँग बसेको तस्बिर पनि सार्वजनिक गरेका छन्।
प्रसाईंसँग पनि वार्ता गर्न सैनिक प्रमुखले भनेपछि आफू सैनिक मुख्यालयबाट वार्ता नै नगरी फर्किएको जेनजी प्रतिनिधि रक्षा बमले जानकारी दिएकी थिइन्।
प्रसाईंले सामाजिक सञ्जालमा लेखेका छन्:
‘आज दिनभर प्रधानसेनापति अशोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो। यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ—
‘मलाई नेतृत्वको मोह छैन।’
देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो।
जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु।
तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन।
म जुनसुकै परिस्थितिको लागि पनि तयार छु।
आजको बिषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ।
अब चाहिएको कुरा हो— गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज।
सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ।
यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो।
अब समय आएको छ— भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर,
देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न।









